November 10, 2026, Tuesday
२०८३ कार्तिक २५
1:37:26 pm

एनआरएनएद्धारा दशौं अन्तर्राष्ट्रिय महाधिवेशनको लागि फेब्रुअरी ५ भित्र डेलिगेट्स तयार गर्ने म्याण्डेट

लन्डन । गैर-आवासीय नेपाली संघले संघको दशौं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि सम्बन्धी विवाद समाधान गठन गरिएको उच्चस्तरीय समितिले डेलिगेट्स सूची तयार गर्ने भएको छ । समितिले फेब्रुअरी ५ भित्र डेलिगेट्स सूची तयार गर्ने भएको हो ।

मंगलबार बसेको शेष घलेको संयोजकत्वमा गठित सात सदस्यीय बैठकमा संयोजक घलेले अहिले सम्मको प्रगतिबारे जानकारी गराएका थिए । त्यस्तै, घलेले डेलिगेट्स विवाद सुल्झाएर विधानसम्मत मतदाता नामावली तयार गर्न १० दिन समय थप्न प्रस्ताव समेतगरेका थिए । उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो ।

बैठकले कानुनी परामर्श समिति र एमआइएस (मेम्बर्शिप इन्फरमेसन सिस्टम) का समस्या समाधान गर्न प्राविधिक समिति गठन गर्ने निर्णय पनि गरेको छ । दुवै समितिहरु गठन गर्ने जिम्मा अध्यक्ष कुमार पन्तलाई दिइएको छ ।

Advertisement

गत वर्ष सम्पन्न जापान, चिली लगायतका राष्ट्रिय समन्वय परिषदहरुको चुनावमा एमआइएस प्रणालीको दुरुपयोग गरी व्यापक धांधली गरिएको भन्ने उजुरीहरु केन्द्रमा परेको थियो ।

घले नेतृत्वको उच्चस्तरीय समितिको सदस्यमा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्व अध्यक्षहरू जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, संरक्षक रामप्रताप थापा र अध्यक्ष कुमार पन्त रहेका छन् ।

समितिले आउंदो फेब्रुअरी महिना भित्रै संघको दशौं महाधिवेशन तथा चुनाव गर्ने गरी काम गरिरहेको बताइएको छ।
यसअघि गत १५ जनवरीमा बसेको संघको अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को बैठकले २६ जनवरी भित्र डेलिगेट्स समस्या सुल्झाउन समितिलाई भनेको थियो ।