क्षितिज विक्रम खनाल, अबुधावी युएई ।
संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले नेपालमा स्थिरता भए युएईको भिसा छिट्टै सहज हुने बताएका छन् ।
राजदूत क्षेत्रीले एक सञ्चारमाध्यमसँग कुराकानी गर्दै युएईमा देखिएको भिसा कडाइ, रोजगारीका नाममा भइरहेको ठगी र दूतावासका सुधारात्मक प्रयासबारे बोल्ने क्रममा यस्तो बताएका हुन् ।
राजदूत क्षेत्रीका अनुसार नेपालमा जेन्जी आन्दोलन पश्चात उत्पन्न राजनीतिक जटिल परिस्थितिले गर्दा युएईले हाल नेपाली नागरिकका लागि भिजिट, कामदार, र विद्यार्थी भिसामा कडाइ गरेको बताएका थिए ।
राजदूत क्षेत्रीले भने, “युएई आफैंमा अत्यन्त शान्त, सुरक्षित तथा विकास, प्रगति र आर्थिक समृद्धिमा अगाडी बढिरहेको देश हो। नेपालमा जेन्जी आन्दोलनपछि जेलमा रहेका धेरै कैदी बन्दी तथा अपराधी बाहिरिएका छन्। जतिसक्दो छिटो हामी ती कैदीहरूलाई पुनः नियन्त्रणमा ल्याउँदैनौं, तबसम्म युएईजस्ता देशहरूले भिषामा कडाई हुन सक्ने देखिन्छ।”
युएईमा रोजगारीका नाममा नेपालीले नेपालीलाई गर्ने ठगि र मानव बेचबिखनका घटनाबारे उहाँले गम्भीर चिन्ता व्यक्त गरेका छन् । भिजिट भिसा लिएर काम दिलाइदिने नाममा केही दलालहरूले नेपालीहरूबाट ठगी गर्ने क्रम बढेको उनको भनाई छ ।