August 26, 2026, Wednesday
२०८३ भाद्र १०
1:37:26 pm

बागमती प्रदेशका मन्त्रालयहरूको संख्या ८ मा सीमित गर्ने

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशका मन्त्रालयहरूको संख्या घटाएर ८ मा सीमित गर्ने भएको छ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले कार्य प्रकृति र कार्यक्षेत्रका आधारमा मन्त्रालयहरूको पुनर्संरचना गरी दरबन्दी स्वीकृत गर्ने घोषणा गरेको हो ।

मङ्गलबार बसेको प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा सरकारले अनुत्पादक चालु खर्च कटौती गर्न हाल कायम रहेका मन्त्रालयहरूलाई आपसमा गाभ्ने र घटाउने नीति लिएको हो ।

Advertisement

सरकारले औचित्य पुष्टि हुन नसकेका अन्य सरकारी संरचना र निकायहरूलाई समेत खारेज गरिने कार्यक्रममा उल्लेख छ।

यस्तै, नागरिकका समस्या, गुनासो र उजुरीलाई तत्काल सम्बोधन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘हेलो सीएम डेस्क’ स्थापना गरिने भएको छ ।

यस्तै, बागमती प्रदेश सरकारले निर्माणाधीन ठुला रङ्गशालाहरूलाई समयमै सम्पन्न गर्ने र खेलकुदलाई पर्यटनसँग जोड्ने लक्ष्य लिइएको छ । खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकारले ३ वटा ठुला आयोजनालाई समयमै सम्पन्न गर्ने लक्ष्य राखेको छ । चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, ललितपुरको निर्माणाधीन गोदावरी रङ्गशाला र हेटौँडाको गौरीटार अन्तर्राष्ट्रिय खेलकुद पूर्वाधारलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको छ ।