November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

कर्णाली प्रदेशमा ३ सय ४८ प्रहरी पुरस्कृत, १ सय ५८ जनालाई सजाय

जुम्ला । कर्णाली प्रदेशमा ३ सय ४८ जना प्रहरी पुरस्कृत र १ सय ५८ जनालाई सजाय गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले सार्वजानिक गरेको अर्ध वार्षिक प्रगति प्रतिवेदनमा जनाइए अनुसार प्रदेशमा ३ सय ४८ प्रहरी पुरस्कृत भएका हुन् । 

यस्तै विभिन्न निकायहरुको समन्वयमा विभिन्न स्थानमा ४४ थान सिसिटिभी जडान तथा ४० वटा मर्मत गरी कुल २४५ स्थानमा सिसिटिभीको व्यवस्था  गरिएको छ । अवैध हातहतियार २४ नाल बरामद र १५ जना पक्राउ गरिएको प्रदेश प्रहरी प्रवक्ता राजेन्द्रसिंह खड्काले बताए ।

‘६ महिनामा अवैध घरेलु मदिरा २२ हजार १९८ लिटर बरामद गरी नष्ट गरेका छौँ । अवैध रुपमा जुवा तास खेल्ने ११ स्थानबाट ८४ जनालाई पक्राउ गरी कारवाही गरिएको छ’ उनले भने ।

Advertisement

बिभिन्न मुद्दाका फरार अपराधिहरु १४१ जनालाई पक्राउ गरी कुल ७३ वर्ष ९ महिना २८ दिन कैद सजाय भुक्तान र  १६ लाख १० हजार ८९० रुपियाँ जरिवाना संकलन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । लागुऔषध दुर्व्यसनी तथा अवैध वेचविखन गर्ने गत वर्षको ६ महिनामा ३५ जना रहेकोमा यस वर्ष ९० जनालाई पक्राउ गरी ५९ ग्राम ३३३ मिलिग्राम ब्राउन सुगर, १ किलो २१३ ग्राम चरेश बरामद गरी कारवाही गरिएको जनएको छ ।