जलेश्वर । मधेश प्रदेश सरकारकी विना विभागीय मन्त्री सुरिता साहले चौथो अङ्गको रूपमा रहेको मिडियाको शक्तिलाई चिन्न नसक्नु आफ्नै खुट्टामा बञ्चरो हान्नु जस्तै भएको बताएकी छिन् ।
आमसञ्चार प्राधिकरण मधेश प्रदेशले नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको सभाहलमा शुक्रबार आयोजित सामुदायिक रेडियोहरुको व्यवस्थापन एवम् सुदृढिकरण सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै साहले यस्तो बताएकी हुन् । मधेश आन्दोलन लगायत अधिकारप्राप्तिका आन्दोलनहरुमा मिडियाहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्नुहुँदै मन्त्री साहले भनिन् ‘चौथो अङ्गको रूपमा रहेको मिडियाको शक्तिलाई चिन्न नसक्नु आफ्नै खुट्टामा बञ्चरो हान्नु जस्तै हो ।’
मधेश प्रदेश सरकारले अन्य क्षेत्रजस्तै मिडियालाई महत्व दिएर नीति तथा कार्यक्रम र बजेटमा सम्मानजनक रूपमा सम्बोधन गर्नुपर्ने बताइन् । मधेशका मिडियाहरुले विभिन्न चुनौतिहरुको सामना गर्दै जनतालाई सुसूचित गर्ने कार्य गर्दैआएकोमा प्रशंसा मन्त्री साहले प्रशंसा गरेकी थिइन् ।

सामुदायिक रेडियो प्रशारक संघ मधेश प्रदेशका अध्यक्ष मनोज कुमार यादवले मधेश प्रदेश सरकारले सामुदायिक रेडियोहरुलाई सबल बनाउन सरकारले सम्मानजनक बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । उनले रेडियोहरुको अवस्था जर्जर हुँदै गएको र ११ ओटा ओटा एफ.एम. रेडियो आर्थिक भार खेप्न नसकेर बन्द भएको चर्चा गरेका थिए ।
मधेश प्रदेशका पूर्व गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले संघ सरकारले प्रदेशलाई अधिकार दिने सवालमा गम्भीर नरहेकोले संविधानले दिएको अधिकारलाई कार्यान्वयनमा ल्याउन सबै पक्ष एकतावद्ध भएर लाग्नुपर्ने बताए । विभिन्न निर्वाचनहरुका कारण सरकारले समयमा बजेट परिचालन गर्न नसकेकोले नीति तथा कार्यक्रम र बजेट आईसकेपछि द्रूत गतिमा कामहरु अगाडि बढ्ने पनि साहले प्रतिवद्धता व्यक्त गरेका थिए ।
प्रदेश सभा सदस्य किरण साहले देशमा परिवर्तनमा ल्याउन मधेशका मिडियाहरुले महत्वपूर्ण भूमिका निभाएको चर्चा गर्दै मिडिया क्षेत्रलाई थप व्यवस्थित बनाउनुपर्ने बताए । केही राम्रा र उदाहरणीय कामहरु आमसञ्चार प्राधिकरणले गरेको भन्दै थप गति दिन समयमा बजेट र कर्मचारी व्यवस्थापन आवश्यक रहेको बताए ।
आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कुमार कर्ण, मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दास, आमसञ्चार प्राधिकरणका बोर्ड सदस्य प्रतिमा चौधरी, प्रेस काउन्सिलका पूर्व सदस्य चन्द्रदेव कामती, प्राधिकरणका प्रशासकीय प्रमुख उपेन्द्र कुमार सिंह, नेपाल पत्रकार महासंघ महोत्तरी शाखाकी कार्यवाहक अध्यक्ष सुनिता बराल, सामुदायिक रेडियो प्रशारक संघकी प्रदेश सदस्य भारती गुप्ता लगायतले सामुदायिक रेडियोहरुले भोग्दै आएको समस्याबारे चर्चा गरेका थिए ।