August 29, 2026, Saturday
२०८३ भाद्र १३
1:37:26 pm

सुरक्षाकर्मीसहित सुकुमबासी बस्तीमा नगरपालिकाको डोजर, दुई दर्जन परिवार विस्थापित

झापा : सरकारी जमिन हडपेर वर्षौंदेखि बसोबास गरेको भन्दै दमक नगरपालिकाले सुकुमबासी बस्तीमा डोजर चलाएको छ। 

नगरपालिकाले डोजर चलाएर घर टहरा भत्काएपछि त्यहाँ बसोबास गर्दै आइरहेका दुई दर्जन घरपरिवार विस्थापित भएका छन्। सरकारी जमिन खाली गर्नु भन्दै स्थानीय तहले पटक पटक सूचना जारी गर्दा समेत उनीहरूले अटेर गरेपछि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी नगरपालिकाले शुक्रबार बिहान डोजर चलाएर संरचना हटाउन थालेको छ। 

दमक वडा नम्बर ७ स्थित हाट खोला बजार क्षेत्रको सुनचाँदी लाइन र पुरानो पूर्वपश्चिम राजमार्ग लाइन गरी दुई स्थानमा नगरपालिकाले डोजर चलाएको हो। त्यहाँ बसोबास गर्नेमध्ये केही नहुनेलाई यसअघि अन्यत्र व्यवस्थापन गरेर संरचना हटाउन लागेको नगरपालिकाका मेयर रोमनाथ ओलीले बताए।

Advertisement

आज हटाइएका घर टहरामा बस्नेहरूको अन्यत्र घरबास रहेकाले भत्काउनुपरेको मेयर ओलीले बताए। सुनचाँदी लाइन तीन वर्षदेखि खाली गराउने नगरपालिकाको योजना थियो। त्यो हाल आएर सम्भव भयो। त्यस क्षेत्रमा नगरपालिकाले सिटी सेन्टर निर्माण गर्ने योजना बनाएको छ।