August 31, 2026, Monday
२०८३ भाद्र १५
1:37:26 pm

प्रदेश १ मा सोमबारदेखि ५५ वर्ष माथिकालाई खोप लगाइने

काठमाडौँ — प्रदेश १ मा सोमबारदेखि कोरोनाविरुद्धको खोप लगाउने भएको छ । प्रदेश स्वास्थ्य निर्देशक ज्ञानबहादुर बस्नेतले सुनसरीबाट ५५ वर्ष माथि उमेरकालाई सोमबारदेखि खोप लगाइने बताए ।

‘सरकारले चीनबाट खरिद गरेको भेरोसेल खोप प्रदेश सरकारले यस प्रदेशका १४ वटै जिल्लामा सोमबारसम्ममा पठाइसक्छ,’ निर्देशक बस्नेतले भने, ‘भेरोसेल खोपपछि अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोनसन कम्पनीको खोप ५० वर्षमाथि उमेर समूहकालाई लगाउने छौं ।’ जोन्सन एण्ड जोन्सनको खोप एक मात्रा मात्रै लगाएपछि पुग्ने बताइएको छ ।

प्रदेश १ मा १ लाख ६९ हजार डोज भेरोसेल खोप र २ लाख ४० हजार डोज जोन्सन एण्ड जोन्सन कम्पनीको खोप आएको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका प्रमुख शम्भु साहले बताए । उनले प्रदेश १ का सबै जिल्लामा दुवै खोप वितरण गरिसकेको बताए ।

Advertisement

यस प्रदेशमा हालसम्ममा कोभिसिल्ड र भेरोसेल खोपको दुवै मात्रा ९९ हजार ६७७ जनाले लगाइसकेको निर्देशक बस्नेतले बताए । यस प्रदेशका ३ लाख ७७ हजार ४४९ जनाले कोभिसिल्ड र भेरोसेल खोपको पहिलो मात्रा लगाएको र दोस्रो मात्रा लगाउन बाँकी रहेको उनले सुनाए ।