लन्डन । एनआरएनएका पूर्व आइसीसी सदस्य विश्वासदीप तिगेलालाई मातृशोक परेको छ । बेलायतनिवासी पत्रकार, लेखक एवम् राजनीतिज्ञ समेत रहेका तिगलेका आमा टिकामाया खापुङ तिगेला लिम्बुको ७५ वर्षको उमेरमा निधन भएको हो ।
तेह्रथुमको मोराहाङमा १ जून १९४७ मा जन्मिएका टीकामाया खापुङ तिगेलाको निधन काठमाडौंको सिभिल अस्पतालमा भएको माइला छोरा विश्वासदीपले बताए । उनको पति मिल बहादुर तिगेलाको निधन सन् २०१५ को अप्रिल २७ मा भएको थियो । उनका तीन छोरीहरू थामुदेवी पारघारी, मनकुमारी चारकोले याख्खा र खडक कुमारी लिम्बु छन् भने टेकजंग, विश्वास दीप तिगेला, थर्कदीप र सन्दीप तिगेला गरेर चार भाइ छोराहरू छन् ।
हात्तीखर्क छथरजोरपाटी १, धनकुटा कर्मथलो रहेका टिकामायाको बसाइँ नयाँ वानेश्वरमा रहेको थियो । विश्वासदीप दर्जन बढी संघसंस्थाहरूमा आबद्ध छन् । उनी विश्व नेपाली साहित्य महासङ्घका पूर्व अध्यक्ष एवम् सल्लाहकार, कियाचु यूकेका पूर्व महासचिव, फोनिज यूकेका पूर्व अध्यक्ष, नेपाल पत्रकार महासङ्घ, यूकेका केन्द्रीय प्रतिनिधि हुन् । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए)को अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्व सदस्य समेत रहेका तिगेला राजनीतिज्ञ पनि हुन् । उनी जनता समाजवादी पार्टीको प्रवास विशेष प्रदेश समितिका मुख्य सचिव समेत हुन् ।
सपरिवार बेलायतको केन्टको आसफोर्डमा बस्दै आएका तिगेलाका छवटा कृति नेपाली र दुई कृति अङ्ग्रेजी भाषामा प्रकाशित छन् । पूर्व ब्रिटिस गोरखा सैनिक समेत रहेका उनी नेपाली समाचार डटकमा प्रधान सम्पादक हुन् । तिगेला बुधबार साँझ काठमाडौं प्रस्थान गर्ने तयारीमा रहेको पारिवारिक स्रोतले जनाएको छ ।
तिगेलाको आमाको निधनमा विनेसाम विश्व केन्द्रीय समितिले शोक सन्देश समेत जारी गरेको छ ।