काठमाडौं । मुन्धुमविद् तथा याक्थुङ भाषा र बौद्धिक इतिहासका धरोहर तिलविक्रम नेम्बाङ ‘बैरागी काइँला’ लाई सम्मानित गरिएको छ ।
आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठान काठमाडौँद्वारा मंगलबार आयोजित आबाला बह्म चारी षडानन्दको १५१ जयन्ती एवं १८ औँ वार्षिकोत्सव तथा षडानन्द पुरस्कार अर्पण समारोहमा षडानन्द राष्ट्रिय पुरस्कार रु एक लाख, दोसल्ला र सम्मानपत्रबाट बैरागी काइँलालाई सम्मानित गरिएको हो ।
यसैगरी षडानन्द क्षेत्रीय पुरस्कारबाट नेवारी संस्कृति, भाषा तथा बाड्मयका अध्येता सहप्राध्यापक काशीनाथ तमोटलाई रु ५१ हजार, दोसल्ला र सम्मानपत्रबाट सम्मानित गरिएको थियो । योग तथा तन्त्रविद् प्रा विद्यानाथ उपाध्याय भट्टले बैरागी काइँला र काशीनाथ तमोटलाई सम्मानपत्र प्रदान गर्नुभयो । साहित्य, संस्कृति तथा मुन्धुम दर्शनमा उहाँले पुर्याएको योगदान अद्वितीय रहेको भट्टको भनाइ छ ।
उनले भने, “सम्मानित भएका व्यक्तिहरू संस्कृति, भाषा तथा बाड्मय क्षेत्रमा प्रकाशस्तम्भझैँ बनेका छन् । उहाँहरूको जीवनपर्यन्त योगदानलाई कदर गर्दै सम्मानित गर्न पाउनु हाम्रो गर्व हो ।” उनले नेवारी ऐतिहासिक भाषिक संरचना, लिपि तथा संस्कृतिमा तमोटको योगदान उच्च रहेको बताए ।
काइँलाले आयोजक संस्थाप्रति आभार व्यक्त गर्दै याक्थुङ–लिम्बू भाषा, लोक साहित्य तथा मुन्धुम संस्कृतिको संरक्षण, शिक्षा र प्रवर्द्धनका लागि जीवन समर्पित गरेको भावनालाई आज सम्मान गरिएकोमा आफू अत्यन्त खुसी भएको बताए । भाषा, साहित्य र संस्कृति क्षेत्रमा योगदान दिने सबैले यस्ता अवसर पाउनु आवश्यक छ ।”
काइँला विगत पाँच दशकदेखि लिम्बू भाषा, मुन्धुम अध्ययन, मौलिक लोककथा, गीत, मिथक, संस्कार–संस्कृति तथा समुदायको मौखिक इतिहास सङ्कलन–संरक्षणमा सक्रिय रहँदै आएका छन् ।