काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुर प्रशासनले राति ९ बजेपछि देउसी/भैलो खेल्न रोक लगाएको छ । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गरेर आ–आफ्नो जिल्लागत वस्तुस्थिति र सुरक्षा अवस्था हेरेर देउसी÷भैलो कार्यक्रम गर्न समयसीमा राख्ने/नराख्नेबारे निर्णय गर्ने जिम्मा सम्वन्धित जिल्ला प्रशासनलाई नै दिएसँगै प्रशासनले राति ९ को समयसीमा तोकेका हुन् ।
तोकिएको समयसीमा भित्र मात्रै देउसी/भैलोलगायत सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम गर्न दिने निर्णय गरेको र प्रशासनको आदेश उल्लंघन गरेमा कानुनअनुसार कारबाही गरिने जनाइएको छ ।
यस्तै सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरेर हिँड्न पनि निषेध गरेको छ । प्रशासनले पटका, आतसबाजी तथा अन्य प्रज्वलनशील पदार्थको ओसारपसार, बिक्री तथा प्रयोग नगर्न पनि अपिल गरेको छ ।