November 9, 2026, Monday
२०८३ कार्तिक २३
1:37:26 pm

विश्वकपमा इंग्ल्यान्डको लगातार दोस्रो जित

२०७८ कार्तिक १०

काठमाडौं : इंगल्यान्डले युएईमा जारी आइसिसी टी–२० विश्वकपमा लगातार दोस्रो जित दर्ता गरेको छ। सुपर–१२ चरणअन्तर्गत बुधबार भएको खेलमा बंगलादेशलाई ८ विकेटले हराउँदै इंगल्यान्डले प्रतियोगितामा दोस्रो जित निकालेको हो।

इंगल्यान्डले पहिलो खेलमा वेस्ट इन्डिजलाई ६ विकेटले हराएको थियो। बंगलादेशले दिएको १ सय २५ रनको लक्ष्य इंगल्यान्डले १४ दशमलव १ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो। उसका लागि ओपनर जेसन रोयले उत्कृष्ट ब्याटिङ गरे। उनले बलमा ३८ बलमा ५ चौका र ३ छक्कासहित ६१ रन बनाए।

डेविड मलानले अविजित २८, जोस बटलरले १८ र जोनी बेयरस्टोले नटआउट ८ रन जोडे। बलिङमा नसुम अहमद र मुस्तफिजुर रहमानले १/१ विकेट लिए।

Advertisement

यसअघि आबुधाबीमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २४ रन बनाएको थियो। उसका लागि मुश्फिकुरले २९, कप्तान महमुदुल्लाहले १९, नसुम अहमदले पनि नटआउट १९, नुरुल हसनले १६ र महेदी हसनले ११ रनको योगदान दिए।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। इंगल्यान्डका लागि टिमल मिल्सले शानदार बलिङ गरे। उनले ४ ओभरमा २७ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए।

लियाम लिभिङ्स्टोन र मोइन अलीले २/२ तथा क्रिस वोक्सले १ विकेट हात पारे। सुपर–१२ मा बंगलादेशको यो लगातार दोस्रो होर हो। पहिलो खेलमा बंगलादेश श्रीलंकासँग पराजित भएको थियो।