ढाका : बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा नेपाली पुरुष भलिबल टिमले समूह चरणको अन्तिम खेलमा दोस्रो जित निकाल्दै ६ अंक जोडेको छ। नेपालसँग पराजित भएसँगै माल्दिभ्स भने अंकविहीन बन्यो।
लिग चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ३-० ले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित निकालेको हो।
ढाकाको मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर हलमा भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले २७-२५, २५-१९ र २५-२३ को सेटमा जित निकाल्यो।
जितसँगै नेपाल शीर्ष चारमा रहन सफल भयो। नेपालको दुई जितसँगै ६ अंक भएको छ। अब अन्य टिमको प्रदर्शनको आधारमा नेपालको अघिल्लो चरण तय हुनेछ।
नेपालले पहिलो खेलमा बंगलादेशसँग ३-० को सोझो सेटमा हार बेहोर्दा दोस्रो खेलमा उज्वेकिस्तानलाई ३-१ को सेटमा पराजित गरेको थियो। शनिबार श्रीलंकासँग ३-१ को सेटमा पराजित भएको नेपालले आफ्नो अन्तिम खेलमा सोझो सेटमा जित निकालेको हो।
अंकविहीन रहेको माल्दिभ्सलाई हराउन सके नेपालले शीर्ष चारमा रहँदै फाइनल खेल्न सम्भावना रहँदा तेस्रो र चौथो स्थानका लागि खेल्ने पक्का हुनेछ। लिग चरणमा बंगलादेश र श्रीलंकाको दुई खेलबाट समान ६ अंक छ।