November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

झापा गोल्डकप फागुन २१ देखि हुने , विजेतालाई १२ लाख ५५ हजार

विराटनगर । झापा गोल्डकप फागुन २१ गतेदेखि हुने भएको छ । पाँचौँ संस्करण अन्तरगत दुई वर्षपछि हुन लागेको झापा गोल्डकप फागुन २१ गतेदेखि ३० गतेसम्म बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा हुने भएको छ ।

झापा गोल्डकपबारे आयोजना गरिएको पत्रकार सम्मलेनमा बोल्दै झापा गोल्डकप आयोजक समितिका संयोजक विनोद बस्नेतले काठमाडौँ बाहिर सबैभन्दा बढी फुटबलको गतिविधि हुने गरेको भएपनि कोभिडका कारण थला परेका खेलकुदका गतिविधिलाई जगाउने प्रयास गरिएको बताए ।

उनले अघिल्ला २ वर्ष कोभिड महामारीका कारण प्रतियोगिता रोकिएको जानकारी गराउदै फेरि पुरानै लयमा फर्काउने बताए । ‘प्रतियोगिता हरेक वर्ष हुँदै आएको थियो कोभिडले केही वर्ष रोकिदियो, २ वर्षपछि फेरि पुरानै लयमा फर्काउने तयारी गरेका छौँ ।’, उनले भने ।

Advertisement

आयोजक समितिका कोषाध्यक्ष केदार गिरीका अनुसार झापा गोल्डकपको विजेता टिमले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ पाउने प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने उच्च गोलकर्तालाई नगद २५ हजार दिइनेछ ।

त्यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचले नगद ९ हजार ९९९ रुपैयाँ पाउनेछन् । प्रतियोगितामा झापा ११ फुटबल क्लबसहित नेपालका ९ र विदेशी एक गरी १० वटा टिमको सहभागिता रहने समितिका संयोजक बस्नेतले बताए ।

प्रतियोगिता सञ्चालनको लागि एक करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।