काठमाडाैं । साविक च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले नेपालको तर्फबाट एएफसी कप छनोटमा स्थान बनाउन सफल भएको छ । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबार दशरथ रंगशालामा भएको निर्णायक खेलमा नेपाल पुलिसलाई १-० ले पराजित गर्दै मच्छिन्द्र पहिलो पटक एएफसी कपमा स्थान बनाएको छ।
सहिद स्मारक ए डिभिजन लिगको सातौं चरणमा शीर्ष स्थानमा रहँदै मच्छिन्द्रले छनोटमा स्थान बनायो। पहिलो हाफमा मच्छिन्द्र क्लबले नेपाल पुलिसविरुद्ध लिएको १-० को अग्रता नै निर्णायक बन्यो।
खेलमा साविक च्याम्पियन मच्छिन्द्रले २१ औं मिनेटमा अग्रता लिन सफल भयो। सुनिल बलले विशाल राईको आकर्षक फ्रिकिकलाई सानदार हेड गर्दै मच्छिन्द्रलाई १-० को अग्रता दिलाए।
जारी लिगमा सुनिलको यो पाँचौं गोल हो। यो गोलसँगै बल सर्वाधिक गोल स्कोरर समेत बने। दोस्रो हाफमा नेपाल पुलिसले ७४ औं मिनेटमा बराबरीको राम्रो मौका चुकायो। सुमन लामाले गरेको प्रहार क्रसबारमा लागेर फर्किंदा पुलिस संभावित बराबरीबाट विमुख भएको थियो।
७८ औं मिनेटमा सब्स्टिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका सुजल श्रेष्ठले गरेको लामो शक्तिसाली प्रहारलाई पुलिसका गोलरक्षक सत्रुघन चौधरीले सानदार डाइभ गर्दै क्लियर गरेका थिए।
त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र खेलमा मच्छिन्द्रले महत्वपूर्ण ३ अंक हासिल गर्दै लिगको शीर्ष स्थानमा रहेर एएफसी कपमा छनोट हुन सफल भयो। सातौं चरणमा मनाङ शीर्षमा फर्किएसँगै मच्छिन्द्रलाई पुलिसविरुद्धको खेल जित्नैपर्ने दबाब रहेको थियो।
लिगमा मनाङको १६ अंक हुँदा मच्छिन्द्रले १ अंकले पछि पार्दै १७ अंकका साथ शीर्ष स्थानमा रहेको थियो।
सातौं चरणको समाप्तिमा लिग अंकतालिकाको शीर्षमा रहने टिमले यसपटक एएफसी कपको छनोट खेल्ने गरि एन्फाले एसियाली फुटबल महासंघ (एएफसी) लाई आग्रह गरेको थियो।
सोहीअनुसार सातौं चरणको नतिजापछि मछिन्द्र शीर्ष स्थानमा रहँदै छनोट भयो।