काठमाडौँ — नेपाल आज ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ५० औं खेल खेल्दै छ । पपुवा न्यु गिनीविरूद्ध त्रिकोणात्मक ट्वान्टी–२० शृंखलाको खेल नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा खेल्न लागेको ५० औं खेल हो ।
सन् २०१४ मा बंगलादेशमा भएको ट्वान्टी–२० विश्वकपमा नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पहिलो खेल खेलेको थियो । नेपालले यसअघिका ४९ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा २७ मा विजय हात पारेको छ भने २१ मा पराजय भोगेको छ ।
नेपालले नेदरल्यान्ड्सविरूद्ध सबैभन्दा बढी ९ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेको छ । त्यसमा ४ जित र ४ हारको नतिजा निकालेको छ भने एक खेल अनिर्णित छ । २०१५ मा नेपालले नेदरल्यान्डस्मा गएर चार खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो । त्यस्तै मलेसियाविरुद्ध ७ तथा हङकङविरूद्ध नेपालले ५–५ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेको छ । मलेसियासँग नेपालले ७ मध्येको ६ खेल जितेको छ ।
सुवास खकुरेल र पारस खड्का क्रमश: नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा अर्धशतक र शतक बनाउने पहिलो खेलाडी हुन् । सुवासले २०१४ को ट्वान्टी–२० विश्वकपमा अफगानिस्तानविरुद्ध एतिहासिक विजय दिलाउदा ५६ रन बनाएका थिए । नेपाली खेलाडीको नाममा ट्वान्टी–२० अन्तर्राष्ट्रियमा कुल २० अर्धशतक रहेको छ ।
पारसले २०१९ को सेप्टेम्बरमा सिंगापुरविरुद्ध सिंगापुरमा अविजित १ सय ६ रनको इनिङ्स खेलेका थिए । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा शतक बनाउने अर्का दुई खेलाडी ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेल हुन् । ज्ञानेन्द्रले २०१९ को डिसेम्बरमा १३ औं दक्षिण एसियाली खेलकुदमा भुटानविरुद्ध १ सय ७ रन बनाएका थिए, जुन ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपाली खेलाडीको उच्च स्कोर पनि हो । त्यस्तै कुशलले फेब्रुअरीमा फिलिपिन्सविरुद्ध अविजित १ सय ४ रन बनाएका थिए ।