November 9, 2026, Monday
२०८३ कार्तिक २४
1:37:26 pm

युनाईटेडको जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले संघर्षपूर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा युनाईटेडले नर्विच सिटीलाई ३-२ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक पूरा गरे । खेलको सातौं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।

३२ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता २-० को बनाए ।

Advertisement

Image

पहिलो हाफको इन्जुरी समयमा केइरन डोवेलले गोल गर्दै नर्विचलाई २-१ को स्थितिमा ल्याए ।

खेलको ५२ औं मिनेटमा टिमु पुकीले गोल गर्दै नर्विचलाई २-२ को बराबरीमा ल्याए ।

त्यसपछि खेलको ७६ औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दै युनाईटेडलाई ३-२ को जित दिलाए ।

रोनाल्डोको यो करियरको ६० औं ह्याट्रिक हो ।

जितसँगै युनाईटेडले ३२ खेलमा ५४ अंक जोडेको छ । युनाईटेड पाँचौं स्थानमा रहेको छ ।

नर्विच २१ अंक जोडेर पुछारमा रहेको छ ।