November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

जिम्बावे ‘ए’ माथि नेपालको सहज जित

काठमाडौं । आसिफ शेखको उत्कृष्ट ब्याटिङमा नेपालले पाहुना टोली जिम्बावे ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम टी-ट्वान्टीमा जित निकालेको छ ।

टियु क्रिकेट मैदानमा बुधबार नेपालले जिम्बावेलाई ८ विकेटले हराएको हो ।

जितसँगै नेपालले पहिलो खेलमा व्यहोरेको हारको बदला लिएको छ । 

Advertisement

पहिलो खेलमा नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो टी-ट्वान्टी भने वर्षाले रद्द भएको थियो ।

नेपालको जितसँगै तीन खेलको सिरिज १-१ को बराबरीमा सकिएको छ । 

May be an image of 4 people, people playing sports, people standing, grass and text

जिम्बावेले दिएको १ सय ३७ रनको लक्ष्य नेपालले १५ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा आसिफ शेखले अविजित रहदै ८७ रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै कुशल भुर्तेलले ३४ रन जोड्दा बसिर अहमेदले १० रन जोडे ।

जिम्बावेका लुक जोग्वे र ब्राण्डन माभुताले १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो ।

जिम्बावेका लागि रोय कियाले सर्वाधिक ४९ रन बनाए । मारुमानीले २७ रन जोड्दा लुक जोग्वेले अविजित २३ रन बनाए । इनोसेन्ट कियाले १४ रन जोडे ।

May be an image of 3 people, people standing, people playing sports and text

नेपालका कप्तान सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र बसिर अहमेदले १/१ विकेट लिए ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो।

अब नेपालले पाहुना टोलीसँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।