August 28, 2026, Friday
२०८३ भाद्र १३
1:37:26 pm

विश्वकपमा वेस्ट इन्डिजलाई नेपालले दियो १ सय ३४ रनको लक्ष्य

काठमाडौं । नेपालले ट्वान्टी–२० विश्वकपमा वेस्ट इन्डिजलाई १ सय ३४ रनको लक्ष्य दिएको छ ।

वेस्ट इन्डिजका कप्तान साई होपले आइतबार मुम्बईको वानखडे रंगशालाको मैदानमा टस जितेपछि ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ३३ रन बनाएको हो । 

खेलमा दीपेन्द्रसिंह ऐरीले ५८ रन बनाए । नेपालले पहिलो ओभरमै विकेट गुमाएको थियो । अकिल हुसेनले कुशल भुर्तेललाई पाँचौँ बलमा बोल्ड गरेका थिए । 

Advertisement

यस्तै, दीपेन्द्र र सोमपाल कामीले सातौं विकेटमा २६ बलमा ५४ रनको साझेदारी गरे ।

होल्डरले फालेको १८ औं ओभरमा नेपालले १६ रन जोडेको थियो । त्यसमा सोमपालले होल्डरलाई लगातार ३ चौका प्रहार गरेका थिए । दीपेन्द्रले २ छक्का प्रहार गरेपछि नेपालले १९ ओभरमा कुल १८ रन जोडेको थियो । 

दीपेन्द्र अन्तिम ओभरमा होल्डरको बलमा लङअफमा क्याच दिन पुगे । उनले ४७ बल खेली समान ३ चौका र छक्का प्रहार गरे । सोमपाल १५ बलमा २६ रन बनाई अविजित रहे । उनले ४ चौका प्रहार गरे । करण केसी १ रन बनाई अन्तिम बलमा आउट भए । 

वेस्ट इन्डिजबाट होल्डरले ४ विकेट लिए । उनले ४ ओभरमा २७ रन खर्चे । फोर्डले ४ ओभरमा १ मेडन राख्दै १० रनमात्र खर्चेर १ विकेट लिए । फोर्डसँगै हुसेन, जोसेफ र चेजले १–१ विकेट लिएका हुन् ।