काठमाडाैं- अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले निर्वाचनका कारण आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा समस्या नहुने बताएका छन्। उनले यो बजेट सु्नाउनका लागि मात्र नभइ कार्यान्यनकै लागि ल्याइएको बताए। कार्यान्वयनको पूर्ण जिम्मेवारी सरकारले लिने उनको भनाइ छ।
‘निर्वाचन सरकारको छनोटको विषय थिएन, परिस्थितिले सिर्जना गर्यो। मुलुक निर्वाचनमा गयो,’ नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको बजेटपछिको छलफल तथा आर्थिक पत्रकार प्रशिक्षकका लागि प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै उनले भने, ‘बजेटबिना मुलुक चल्न सक्दैन, चुनाव हुँदैमा सरकारले नियमित काम नगर्ने भन्ने हुँदैन। चुनावकै कारण बजेट कार्यान्वयनमा चुनाैती हुँदैन।’
उनले बजेट ल्याउनु हुँदैन भनेर गरिएको टिप्पणी ‘पोलिटिकल स्टन्ट’ मात्र भएको दाबी गरे। ‘यो सरकार लोकतान्त्रिक प्रतिस्पर्धाको माध्यमबाट आएको हो। सरकारलाई प्राप्त जनादेश कुनै अर्को निर्वाचनले खण्डित गरेको छैन, त्यसैले सरकारलाई पूर्ण बजेट ल्याउन अधिकार छ,’ उनले भने, ‘संविधानसम्मत, कानुनसम्मत रुपमा जनता र राज्यको जिम्मेवारीबोध गरेर बजेट ल्याइएको छ।’
राजनीतिक आधारमा बजेटमाथि गरिएको टिप्पणी विषयगतरुपमा भन्दा पनि बजेट आउनु हुँदैन भन्ने मात्र आएको उनले बताए। ‘बजेटको यो शीर्षक ठीक भएन भनेर कसैले भन्न सकेको छैन,’ अर्थमन्त्री पाैडेलले भने।
उनले बजेट कार्यान्वयनका लागि आजै सबै मन्त्रीहरुसँग छलफल राखिएको बताए। मन्त्रालयगत आधारमा कार्यान्वयनको कार्ययोजना बनाएर अगाडि बढ्ने उनको भनाइ छ।