काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, कार्यकारी समितिको बैठकले विविध कारणवस हालसम्म अनुदान सम्झौता गर्न नसकेका वा अनुदानको किस्ता लिन नसकेका लाभग्राहीहरुलाई कात्तिक मसान्तभित्र तेस्रो किस्ता लिनेगरी घर पुनर्निर्माण गर्न अनुरोध गरेको छ।
बिहीबार बसेको समितिको बैठकले त्यस्ता पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीहरुलाई सम्बन्धित स्थानीय तहमा यथाशीघ्र निवेदन दिन अनुरोध गरेको हो।
अनुदान सम्झौता गर्न वा बाँकी किस्ता प्राप्त गर्न लाभग्राहीले प्राधिकरणले तयार गरेको कबुलियतनामा फाराम भर्नुपर्नेछ। लाभग्राही प्राधिकरणले तोकेको मापदण्ड र समयसीमा अनुसार पुनर्निर्माण गर्न मञ्जुर हुनुपर्नेछ। त्यसलाई सम्बन्धित वडाध्यक्षले सिफारिससमेत गर्नुपर्ने प्राधिकरणले जनाएको छ। ‘त्यसपछि, प्राधिकरणको जिल्ला इकाइले जिल्ला सहजीकरण समितिको निर्णयअनुसार सम्झौता गराउने वा बाँकी किस्ता उपलब्ध गराउनेछ,’ प्राधिकरणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
त्यसैगरी, बैठकले निर्माण भइसकेका निजी आवासहरु निर्धारित मापदण्ड बमोजिम सुधार गर्नुपर्ने भनी सम्बन्धित प्राविधिकले गरेको सिफारिसअनुसार सुधार गर्न सहमत लाभग्राहीलाई अनुदानको बाँकी किस्ता भुक्तानी गर्ने पनि निर्णय गरेको छ।
यस्ता घरहरुका लागि लाभग्राहीले अनुदानको किस्ता लिई सकेपछि प्राविधिकको सुझावअनुसार स्थानीय तहबाट सुधार गरी निर्माण सम्पन्नताको प्रमाणपत्रका लागि स्थानीय तहमा दाबी गर्ने कबुलियतनामा गर्नुपर्नेछ। अनुदान लिएर घरमा आवश्यक सुधार कार्य गरी सुरक्षित नबनाएमा प्राधिकरण र स्थानीय तहले तोकेको कार्वाही भोग्न लाभग्राही तयार हुनुपर्नेछ।