काठाडाैं । यस साता नेप्से परिसूचक करिब ५१ अंक घटेको छ। गत साता २९२६.८९ विन्दुमा बन्द भएको नेप्से, यस साता ५०.९२ अंक घटेर २८७५.९७ विन्दुमा झरेको छ।
साताका ५ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार ओरालो लागेसँगै नेप्सेले सो अंक गुमाएको हो।
यस साताको पहिलो कारोबार दिन नेप्से ५ प्रतिशत घटेर नकारात्मक सर्किट लागेर ४० मिनेटको लागि कारोबार बन्द भएको थियो। तर, त्यसपछि भने नेप्सेमा सामान्य सुधार भएको थियो। यद्यपि, सो दिन बजार नकारात्मक नै रहेको थियो। त्यसको भोलिपल्ट भने नेप्से करिब ६ प्रतिशत घटेको थियो।
यस साता सेन्सेटिभ इण्डेक्स ६.४८ अंक घटेर ५३५.२९ विन्दुमा झरेको छ भने फ्लोट इण्डेक्स ३.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८७ अंक घटेको छ।
नेप्सेसँगै यस साता कारोबार रकममा पनि कमी आएको छ। गत साता ४ कारोबार दिनमा ४७ अर्ब ७६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता ५ कारोबार दिनमा ४२ करोड २५ लाख रुपैयाँ बराबरको ८ करोड ६७ लाख कित्ता शेयर कारोबार भएको छ।
यस साता नेप्सेसँगै कुल बजार पूँजीकरणमा पनि कमी आएको छ। गत साता ४० खर्ब ८९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण यस साता ६४ अर्ब घटेर ४० खर्ब २४ अर्ब रुपैयाँमा समेटिएको छ।
यस साता १३ उपसमूहमध्ये २ उपसमूहबाहेक सबैको परिसूचक ओरालो लागेको छ। यस साता हाइड्रोपावर र अन्य उपसमूहको परिसूचक बढेको छ। हाइड्रोपावरको परिसूचक यस साता ०.७३ प्रतिशत अर्थात २४.३४ अंक घटेर ३३५४.६६ विन्दुमा पुगेको छ।
यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ६.१२ प्रतिशत घटेको छ। गत साता ३५७७.८८ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता २१९.०८ अंक घटेर ३३५८.८० विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक घटेको छ। सो उपसमूहको परिसूचक यस साता ३.७१ प्रतिशत अर्थात ५००.८१ अंक घटेर १२९९७.११ विन्दुमा बन्द भएको छ।