डडेल्धुरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनबीच आगामी निर्वाचनमा गठबन्धन हुने सहमति भएको बताएका छन् ।
बुधबार डडेलधुरामा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले गठबन्धन हुने दाबी गर्दै गठबन्धन दल मिलेर चुनावमा गएमा एमालेको पत्तासाफ हुने बताए ।
अध्यक्ष नेपालले अहिले एमाले पार्टी केपी ओलीको कब्जामा रहेको बताए । केपी गुटको भविष्य नभएको बताउँदै उनले नेकपा एमालेसहित केपी गुटको पत्तासाफ हुने बताएका हुन् ।
नेता नेपालले विगतमा आफूले ल्याएको सूर्य चिह्नमा ग्रहण लागिसकेको बताए । ‘एमालेले सूर्यको कुरा गरिरहनु आवश्यक छैन,’ उनले भने, ‘म नै निर्वाचन आयोगमा गएर सूर्य चिह्नका निम्ति लड्ने मान्छे हुँ । तर के गर्ने‚ अहिले त्यहि सूर्यमा ग्रहण लागेको छ ।’
अहिले नयाँ पार्टी गठन गरेपछि कलम चिह्न ल्याएर मेचीदेखि महाकालीको अभियानमा उत्रिएको उनले बताए । उनले अब कलम चिह्न नै सही र न्यायको पक्षमा भएको बताए ।
न्यायको आवाज बुलन्द गर्दै सत्यको बाटोमा हिँड्नका लागि प्रेरित गर्न कलम चिह्न लिएर एकीकृत समाजवादी जनताको मैदानमा उत्रिएको छ,’ उनले भने, ‘यो पार्टीलाई गाउँगाउँमा, टोलटोलमा, वडावडामा, पालिकापालिकामा पु¥याउनुस् ।’
त्यसैगरी नेपालले आफ्नै घर ठानिएको नेकपा एमाले अहिले केपी ओलीको मुठीमा गएको बताए । ‘हामीले घर ठानेका थियौँ‚ जेल भएछ,’ उनले भने, ‘पार्टी जेलमा परिणत भएपछि विद्रोह गरेर पर्खाल तोडिदिएका छौँ ।’
उक्त कार्यक्रममा एमाले डडेल्धुराका तत्कालीन अध्यक्ष डा तारा जोशीसहित बहुमत जिल्ला कमिटी एकीकृत समाजवादीमा प्रवेश गरेको छ ।