काठमाडौं । नेकपा माओवादी केन्द्रको बन्दसत्र केहीबेरमा सुरु हुँदैछ । त्यसका लागि अहिले प्रतिनिधिहरू बन्दसत्र हलभित्र प्रवेश गरिसकेका छन् ।
स्रोतका अनुसार बन्दसत्र अघि स्थायी कमिटी बैठक बसिरहेको छ भने सो बैठकले केन्द्रीय कमिटीमा रहनेहरुको सूची सहमतिको आधारमा तय गर्नेछ ।
स्थायी कमिटी सकिएलगत्तै बन्द सत्र सुरु हुने माओवादीले जनाएको छ । आजै बन्दसत्रले पार्टीको केन्द्रीय कमिटी चयन गरेर महाधिवेशन नै सक्ने तयारी छ ।
त्यस्तै, नेकपा माओवादी केन्द्रको निर्वाचन तालिका तेस्रो पटक संशोधन भएको छ । पार्टीभित्र सहमतिकै आधारमा नेतृत्वसहितको केन्द्रीय कमिटी घोषणा गर्नका लागि छलफल जारी रहे पनि निर्वाचन समितिले फेरि निर्वाचन तालिका संशोधन गरेको हो ।
शनिबार नै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको निर्वाचन समितिले अर्को संशोधन तालिका सार्वजनिक गरेर आइतबार दिउँसो २ बजेदेखि गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गरेको थियो ।
अहिले तेस्रो पटक सारेर दिउँसो ४ बजेका लागि निर्वाचनको संशोधित कार्यतालिका सार्वजनिक गरिएको हो ।