धरान । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई एक भएर लाग्न आग्रह गरेका छन् । ‘धरान डे’को अवसरमा नेपाली काँग्रेसले सुनसरी क्षेत्र नम्बर १ मा गरेको कार्यलय उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले पार्टीलाई एक ढिक्का बनाउने जिम्मा कार्यकर्ताको भएको बताए ।
प्रधानमन्त्री देउवाले पार्टीमा एकता भए मात्र सरकार पनि बलियो हुने बताउँदै पार्टी एकताको सुरुवात धरानबाट हुने अपेक्षा पनि राखे ।
‘धरानमा काँग्रेसले कहिल्यै जित्दैन भन्ने थियो, हाम्रो मेयरले जितिसक्नु भयो, अब पार्टी एकताको सुरुवात पनि धरानबाट हुनेछ भन्ने विश्वास लिएको छु ।,’ प्रधानमन्त्री देउवाले भने । सबैको सहयोगले पार्टी सभापति भएको खुलाउँदै देउवाले यो कार्यकाल अन्तिम भएको पनि बताएका छन् ।
त्यस्तै, प्रधानमन्त्री देउवाले धरान ६ पानवारीमा रहेको फोहोर प्रशोधन केन्द्रको उद्घाटन पनि गरेका छन् भने धरान ८ स्थित तीनकुने सुन्दरी बस्ती विकास आयोजनामा बन्दै गरेको बसपार्कको अवलोकन पनि गरेका छन् ।