काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्बन्धी सम्झौता संसदमा टेबल भएको छ । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त सम्झौता अनुमोदनका लागि संसदमा टेबल गरेका हुन् ।
मन्त्री कार्कीले प्रमख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधबीच पनि अर्थमन्त्री जनार्दन शर्माका तर्फबाट उक्त सम्झौता टेबल गरेका हुन् ।
एमसीसी अनुमोदनका लागि टेबल गर्नुअघि बोल्दै मन्त्री कार्कीले यो परियोजना नेपालको बिजुली प्रसारण लाइन र विभिन्न सडक खण्डको स्तरोन्नतिका लागि अमेरिकाले दिने सहयोग भएको बताएका थिए ।

यसअघि आज बिहान बसेको सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले एमसिसी संसदमा टेबल गर्ने सहमति गरेको थियो । सत्तारूढ गठबन्धनमा लामो विवाद र बहसपछि एमसीसी संसद बैठकको कार्यसूचीमा परेको हो ।
अर्को बैठक फागुन १२ गते दिउँसो १ बजे बस्नेछ। त्यही बैठकबाट एमसीसी सम्झौतामाथि छलफल सुरू हुने सम्भावना छ ।