काठमाडौं । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउने आरोप लगाएका छन्। शनिबार काठमाडौंमा आयोजित एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपालको राष्ट्रिय सम्मेलनमा बोल्दै
अध्यक्ष नेपालले केपी ओली नेतृत्वको सरकारले नेपाललाई इण्डोप्यासेफिक रणनीतिको अंग बनाएर सिध्याउने काम गरेको तर आफूहरूले बचाएको दाबी समेत गरे।
ओली नेतृत्वको अघिल्लो सरकारका मन्त्री प्रदीप ज्ञवालीले अमेरिकामा गएर नेपाललाई इन्डोप्यासेफिक रणनीतिको अंग बनाउने समझदारीमा हस्ताक्षर गरेको तर आफूहरूले विरोध गरेपछि अमेरिकाले हटाएको बताए।
नेपाललाई इन्डोप्यासेफिक रणनीतिको अंग बनाएर ओलीले सिध्याउने प्रयास गरे पनि आफूहरूले विरोध गरेर बचाएको अध्यक्ष नेपालको भनाइ थियो। फेरि ओली सत्तामा आए इन्डो प्यासेफिक रणनीतिको अंग बनाएर नेपाललाई सिध्याउने आरोप लगाउँदै उनले त्यसो हुन नदिन पनि सत्तारूढ गठबन्धनलाई जोगाउन लागिपरेको बताए।
त्यस्तै अध्यक्ष नेपालले ओलीलाई नेपाली राजनीतिको घाँडोको संज्ञा समेत दिए। ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाएर हटाउने अपराधपूर्ण सोच राखेको भन्दै उनले आक्रोश समेत व्यक्त गरे।