November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

चिनियाँ विदेशमन्त्री वाङ यी’को आज शीर्ष नेतासँग भेटवार्ता हुने

काठमाडौं । तीनदिने नेपाल भ्रमणमा आएका चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी’ले आज शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने भएका छन् । विदेशमन्त्री वाङ परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा शुक्रबार २५ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आइपुगेका थिए ।

विदेशमन्त्री वाङले नेपाल बसाइमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री खड्कालगायत नेताहरूसँग भेटवार्ता गर्नेछ ।

त्यस्तै, वाङले नेपालका समकक्षी नारायण खड्कासँग वार्ता गर्नेछन् । परारष्ट्रमन्त्री खड्कासँगको भेटपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । परराष्ट्रमन्त्री खड्काले चिनियाँ विदेशमन्त्रीको स्वागतमा आज साँझ होटल द्वारिकाजमा रात्रीभोज दिनेछन् ।

Advertisement

भ्रमणको अन्तिम दिन आइतबार (भोलि) वाङको राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट हुनेछ । चिनियाँ विदेशमन्त्री यीले नेपाललाई आर्थिक सहायता घोषणा गर्ने अपेक्षा गरिएको छ । विभिन्न १२ सम्झौतामा हस्ताक्षर हुने दाबी गरिएको छ । विदेशमन्त्री वाङको सुरक्षाका लागि राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

वाङ दक्षिण एशियाली देशहरू पाकिस्तान, अफगानिस्तान र भारतको भ्रमणपछि नेपाल आएका हुन् ।