काठमाडौं । जनता समाजवादी पार्टी प्रतिनिधिसभाका प्रमुख सचेतक प्रमोद साहमाथि एमालेले सांघातीक आक्रमण गरेको आरोप लगाएको छ । शनिबार बिहान सर्लाहीको ईश्वरपुर नगरपालिकामा जसपाका प्रमुख सचेतक साहमाथि आक्रमण हुँदा साहको टाउकोमा चोट लागेर घाइते भएका छन् ।
जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाही माग गरेका छन् । ‘उक्त घटनाका दोषीमाथि अविलम्ब कडाभन्दा कडा कारबाही गर्न तथा शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’, विज्ञप्तिमा उल्लेख छ ।

पार्टीको कामको सिलसिलामा गृहजिल्ला पुगेका साहमाथि सुनियोजित ढंगले आक्रमण भएको र त्यसमा एमाले दर्जनौं कार्यकर्ता संलग्न रहेको जसपाको आरोप छ ।
साहलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।