काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली गठबन्धनको तेज देखेर बेहोसी अवस्थामा बर्बराउन थालेको बताएका छन् । बारामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले गठबन्धनको तेज देखेर ओली बेहोस अवस्थामा बर्बराइरहेको र उनलाई होसमा ल्याउन सहयोग गर्न आग्रह समेत गरे ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले पाँच दलिय गठबन्धन प्रतिगामी प्रवृत्तिलाई पराजित गर्न, संविधान र अर्थतन्त्रको रक्षा एवं समाजवादलाई साकार पार्नका लािग भएको बताए । ‘अर्को पक्षले प्रतिगामी शक्तिहरूसँग साँठगाँठ गरिरहेको छ, संविधान विरोधी तत्वहरु, यथास्थितिवादी तत्वहरुसँग साँठगाँठ गरिरहेको छ ।’, अध्यक्ष नेपालले भने ।
अध्यक्ष नेपालका अनुसार आगामी निर्वाचनमा देशभरका ११ उपमहानगरमध्ये नेकपा एकीकृत समाजवादीले तीनवटा उपमहानगरमा दावी गर्नेछ ।
उनले भरतपुर महानगरको उम्मेदवारको हकमा काँग्रेस र माओवादी केन्द्रबीच देखिएको विवादलाई छलफलको माध्यमबाट टुंगो लगाइने जानकारी दिए । काँग्रेसभित्र २ वटा विचार भए पनि निर्वाचनमा सिटको तालमेल मिलाएर जाने विषयमा निर्णय भइसकेको जनाएका छन् । ‘चुनावमा जमानत जफत हुनेले पनि सानदाररुपमा म अत्यधिक मतले विजयी हुन्छु भन्छ, मैले देखिसकेको भोगिसकेको कुरा हो’ नेता नेपालले भने ‘जिल्लामा सबै पार्टीको आ–आफ्नो शक्तिको आकलन हुन थालेको छ, कसैले धेरै दावा गर्न थालेका छन् कसैले अलि लचकता देखाउन थालेका छन् ।’
पूर्वप्रधानमन्त्री नेपालले काठमाडौँ तराई÷मधेस फास्ट ट्रयाक र दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम आफ्नो पहिलो प्राथमिकतामा रहेको टिप्पणी गरेका छन् ।
अध्यक्ष नेपालले सिमराका व्यवसायीहरूसमेत भेटघाट गरेका थिए ।