काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी संसदीय टोलीबीच भेटवार्ता भएको छ । सिनेटर किस्टर्न जिलिब्रान्डको नेतृत्वको संसदीय टोलीले शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवासँग भेटवार्ता गरेको हो ।
भेटवार्तापछि देउवाले ट्विट गर्दै अमेरिकी संसदीय टोलीलाई स्वागत गर्न पाउँदा खुसी भएको बताएका छन् । ट्विटमा प्रधानमन्त्री देउवाले भेटका क्रममा नेपाल र अमेरिकाबीचको सम्बन्धबारे विचारहरू आदानप्रदान गरिएको उल्लेख छ ।

चार जना अमेरिकी सिनेटर र एक जना सांसदको टोली शुक्रबार साँझ काठमाडौं आइपुगेको थियो । टोलीमा सिनेटरहरू सेल्डन ह्वाइटहाउस (रोड आइल्याण्ड), कोरी बुकर (न्यु जर्सी), मार्क केली (एरिजोना) र प्रतिनिधि सभा सदस्य मोन्डेयर जोन्स (१७ औं कङ्ग्रेसनल डिस्ट्रिक्ट, न्यूयोर्क) छन् ।
उक्त टोलीले शनिबार बिहान परराष्ट्र मन्त्री नारायण खड्कासँग भेटेका थिए । परराष्ट्र मन्त्रालयलयका अनुसार उनीहरूबीच आर्थिक विकासलगायत विभिन्न क्षेत्रमा सहयोग गर्ने विषयमा कुराकानी भएको थियो । यस्तै, द्विपक्षीय र बहुपक्षीय स्तरमा साझा चासोका क्षेत्रहरूमा पनि विचार आदानप्रदान गरिएको थियो ।
