विराटनगर । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको नेतृत्वमा सरकार बने जेष्ठ नागरिकहरुलाई ६५ वर्षमै भत्ता दिने व्यवस्था गर्ने बताए । बुधबार विराटनगरमा काँग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले यसको व्यवस्था आफुले पहिले पनि गरेको तर ओली नेतृत्वको सरकारले त्यसलाई अस्वीकार गरेको बताए ।
यस्तै, अहिलेको अवस्थामा गठबन्धन राष्ट्रिय आवस्यकता भएको बताएका छन् । आवस्यकता भएकाले नै गठबन्धन गरेर निर्वाचनमा जानु परेको उनको भनाइ थियो ।
प्रधानमन्त्री देउवाले भने, ‘अहिले काँग्रेस, माओवादी, जसपा, जनमोर्चा र एकीकृत समाजवादीबीच जुन गठबन्धन बनेको छ यो अहिलेको राष्ट्रिय आवश्यकता अनुसार बनेको हो । उनले गठबन्धनप्रति कुनै शंका उपशंका गर्ने काम गर्न नहुने भन्दै काँग्रेसले गठबन्धनलाई धोका दिन नसक्ने बताए ।
‘उचाल्ने पछार्ने मान्छे धेरै हुन्छन्, धेरै स्वार्थ होलान् तर काँग्रेसले कुनै हालतमा गठबन्धन भंग गर्ने काम गर्दैन’, देउवाको भनाइ छ । उनले विराटनगरको ऐतिहासिक महत्वबारे खोज अनुसन्धान हुने भन्दै राजनीतिक हिसावले पनि विराटनगरको छुट्टै महत्व रहेको बताए ।