काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता तथा मकवानपुर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडामाथि हातपात भएको छ ।
मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा चुनावी सभामा जाने क्रममा उनीमाथि हातपात भएको हो । हेटौंडा उपमहानगरपालिका–२ का अन्दाजी ५५ बर्षीय पुरुषोत्तम खड्काले खतिवडामाथि हातपात गरेका हुन् ।
सभास्थलमा जाने क्रममा खतिवडालाई गाडीबाट ओर्लनेबित्तिकै खड्काले हातपात गरेको एक प्रत्यक्षदर्शीले बताए ।
प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याउन लागेको बताए ।
उनले भने,’प्रारम्भिक अनुसन्धानमा खड्काले मादक पदार्थ सेवन गरेको पाइएको छ।’ उनले पुरानो रिसइबी समेत रहेको बताए ।