काठमाडौं । आज पुस २७ गते, नेपाल एकिकरणका महानायक पृथ्वीनारायण शाहको ३ सय १ औँ जन्म जयन्ती देशभर बुधबार पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदैछ । पृथ्वी जयन्तीको अवसरमा देशभर विविध कार्यक्रम आयोजना गरिँदैछ ।
विक्रम संबत १७७९ साल पुस २७ गते गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराको रुपमा जन्मनुभएका पृथ्वीनारायणले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका विभिन्न राज्यहरुलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए । २० वर्षको उमेरमा राजगद्दीमा बस्नु भएका पृथ्वीनारायणको सिंगो जीवन देश एकीकरणमा बितेको थियो ।
पृथ्वीनारायणको सम्झनामा काठमाडौं लगायत देशका विभिन्न स्थानमा विभिन्न कार्यक्रमहरु गरिंदैछ । सिंहदरबार अगाडिको शालिकमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार बिहान माल्र्यापर्ण गर्ने कार्यक्रम रहेको छ ।
यस अवसरमा सरकारले बुधबार सार्वजनिक बिदा पनि दिएको छ । वि.सं।.०६३ सालमा तत्कालिन सरकारका गृहमन्त्री कृष्ण सिटौलाले कटौती गरेको पृथ्वी जयन्तीको बिदा यस पटकदेखि पुनर्स्थापना भएको छ ।
यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीद्वारा बुधबार जारी सन्देशमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा राष्ट्रिय एकता दिवसका अवसरमा हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।
उनले तत्कालिन समयमा पृथ्वीनारायणले चालेको एकीकरण अभियानको आधारभूमिमा उभिएरै आजको सार्वभौम, स्वतन्त्र, समावेशी, लोकतान्त्रिक गणतन्त्र नेपालसम्मको यात्रा सफल भएको उल्लेख गरेकी छन् ।
सन्देशमा भनिएको छ, ‘तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल निर्माणको अभियानलाई दशकौंसम्म हाम्रा वीर पुर्खाले अगाडि बढाएकै हुनाले नेपालको स्वतन्त्र र सार्वभौम अस्तित्व कायम रहन सकेको ऐतिहासिक यथार्थ हामी सबैले आत्मसात गर्नु पर्दछ ।’ उनले वर्तमान समयका उपलब्धिमा गौरवबोध गरिरहँदा पूर्वजहरूले इतिहासमा गरेका त्याग र बलिदानप्रति उत्तिकै सम्मान व्यक्त गर्न आवस्यक रहेको बतइन ,