August 29, 2026, Saturday
२०८३ भाद्र १३
1:37:26 pm

बागमती सरकार पत्रकारितालाई स्वनियमनमा लैजान प्रोत्साहित गर्न चाहन्छः मन्त्री श्रेष्ठ

काठमाडौं । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चिताका लागि आवश्यक काम गर्ने बताएका छन् ।

बुधबार विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना दिँदै उनले भने, ‘बागमती प्रदेश सरकारका तर्फबाट बागमती प्रदेशका सञ्चारकर्मी तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सबै जनसमुदायमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । यस अवसरमा नेपालको संविधान २०७२ को मर्म र भावना अनि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको उद्देश्य अनुरुप प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चिताका लागि आवश्यक काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

उनले स्वतन्त्रताको उपभोग गर्दा अरुको आत्मसम्मानलाई ख्याल गर्नुपर्ने पनि बताए । ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्राण हो । एक सय चार बर्षे राणा शासन, तीस बर्षीय निरंकुश पञ्चायत, राजाको प्रत्यक्ष शासन भोगेका तपाई हामीले अभिव्यक्ति स्वतन्त्रताको महत्व राम्रैसँग बुझेका छौ । स्वतन्त्रताको उपभोग गर्दा अरुको आत्मसम्मानलाई ख्याल गर्दै स्वतन्त्रता अराजकता होइन भन्ने मान्यतामा हामी बिश्वस्त छौ ।’, शुभकामना दिने क्रममा उनले बताए ।

Advertisement

यस्तै, बागमती प्रदेश सरकारले पत्रकारितालाई नियन्त्रण नगरी स्वनियमनमा लैजान प्रोत्साहित गर्न चाहेको पनि बताए । शुभकामनामै क्रममा उनले भने, ‘नेपालको इतिहासमा पहिलो पटक बागमती प्रदेशले बनाएको प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ बमोजिम प्रदेशमा सञ्चार रजिष्ट्रारको कार्यालय स्थापना भई सञ्चार माध्यम र पत्रकारको हित प्रबद्र्धन हुने गरी कार्यक्रम सञ्चालन भइरहेका छन् । श्रमजीवी पत्रकारको क्षमता विकास गर्न सीप विकासका कार्यक्रम सञ्चालनलाई प्राथमिकताका साथ अगाडि बढाउने बागमती प्रदेश सरकारको नीति रहेको प्रष्ट पार्न चाहन्छु ।’