November 13, 2026, Friday
२०८३ कार्तिक २७
1:37:26 pm

निरा पाण्डे हत्याका अभियुक्त विनोद विश्वकर्मा पुर्पक्षका लागि थुनामा

काठमाडौं । निरा पाण्डेको हत्या अभियोगमा पक्राउ परेका विनोद विश्वकर्मा पुर्पक्षका लागि थुनामा पठाइएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रप्रकाश तिवारीको इजलाशले विश्वकर्मालाई पुर्पक्षमा पठाएको हो ।

विश्वकर्माले काठमाडौंको कपनकी पाण्डेको हत्या गरेको आरोप थियो । वैशाख ७ गते दिउँसो आफ्नै पसलमा बसिरहेको बेलामा हत्या गरिएको निरा पाण्डेको शरीरमा पटकपटक चक्कु प्रहार भएको प्रहरीले जनाएको थियो ।

हत्या आरोपी विश्वकर्मालाई वैशाख १६ गते झापाको बिर्तामोड नगरपालिका–५ स्थित इलाम स्टेशनमा हिँडिरहेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको थियो । प्रहरीका अनुसार उनले प्रहरी र सरकारी वकिल कार्यालय समक्ष हत्या गरेको स्विकारेका छन् । आर्थिक अवस्था कमजोर बनेको र लुटपाट गर्ने उद्देश्यले कपनको सरस्वती नगरस्थित पसलमा पुगेको उनले बताएका छन् ।

Advertisement

प्रहरीका अनुसार लुटपाट गर्नेक्रममा निराले प्रतिकार गरेपछि आफू समातिने डरले नै हत्या गरेको उनले बयान दिएका छन् । प्रहरीले उनले हत्या गरेको समयमा लगाएको कपडा बरामद गरेको थियो । उनलाई सिसिटिभी फुटेजको आधारमा विश्लेषण गरी पक्राउ गरेको थियो ।

प्रहरीले अर्का एक जनालाई पनि प्रतिवादी काठमाडौंको तार्केश्वर नगरपालिका–१० हिलेटोलमा पाथिभरा सुनचाँदी पसल सञ्चालन गरी बसेका २३ वर्षीय प्रदिप गदाइलीलाई पनि अदालतमा पेश गरेको थियो ।

विनोद विश्वकर्माले निरा पाण्डेको हत्यापछि लुटेको सिक्री उनले किनेको पाएपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको थियो । उनलाई भने इजलाशले एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

विश्वकर्माले मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ बमोजिम क्रुर एवं निर्ममतापूर्वक ज्यान मारेकाले जन्मकैदको सजाय माग गरेको थियो । सरकारी वकिलको कार्यालयले विश्वकर्मा र गदाइलीविरूद्ध गत बुधबार अदालतमा अभियोगपत्र दायर गरेको थियो ।