काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीलाई सुधार गर्नुपर्ने बताए । काँग्रेस ललितपुरले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले पार्टी सुधारका पक्षमा होमिन नेता तथा कार्यकर्ताहरूलाई आग्रहसमेत गरेका छन्।
महामन्त्री थापाले भने, ‘गलत निर्णय गर्नबाट पार्टीलाई रोक्न सकियो, पार्टीलाई सच्याउन सकियो र पार्टीलाई जनमुखी बनाउन सकियो भने कसैले पनि रोक्न सक्दैन । हाम्रो बेगलाई कसैले रोक्न सक्दैन । नयाँ पुराना कोहीसँग डराउन पर्दैन। तर पार्टीमा जहाँ रोग लागेको छ त्यहाँ उपचार गर्नुपर्छ।’
यतिबेला पार्टी समस्यामा रहेको र यस्तो अवस्थामा कुटउपगुट बिर्सिएर एकजुट हुनुपर्ने भन्दै महामन्त्री थापाले भने, ‘काँग्रेसको तल हैन धुरी बिग्रीएको हो, माथी बिगि्रएको हो । तल बिगि्रएको छैन । जरै बिगि्रए रुख ढल्छ, टुप्पो बिग्रेमा भाँच्दा ठिक भैहाल्छ । त्यसैले सम्हाल्न सकिन्छ । गुटको कुरा बिर्सिनोस्, केको गुट अब ? सब समूह, गुट भत्काउने हो अब । अब पार्टीमा सुधार चाहने र नचाहने दुई गुट रहन्छ ।’
उनले अब काँग्रेसले आफ्नै बारेमा मात्रै चिन्ता गर्नुपर्ने पनि बताए । ‘बिदा गरेर पठाएका राजाका धेरै चर्चा नगरौं । नयाँ आएका पार्टीका बारेमा पनि धेरै चिन्ता नगरौं । चिन्ता आफ्नो बारेमा गरौं । ४ बर्ष मौका पाइएको छ, ३२९ वटा पालिकामा जितिएको छ ।’, उनले भने ।
उनले पार्टीभित्र देखिएका समस्या समाधान गर्ने आँट गर्नुपर्ने बताए। ‘पार्टीको प्रत्येक सदस्य अब जोखिम उठाउन तयार हुनुपर्छ। सबै जना मानिस अब आफ्नो सुविधाको ठाउँबाट बाहिर निस्कनुपर्छ,’ थापाले भने, ‘मेरो पद गए जाओस्, म कांग्रेस कार्यकर्ता मात्रै भएर बस्न परे बस्छु। म कांग्रेसको महामन्त्री छु, पार्टी सुधार गर्ने काममा जोखिम उठाएर काम गर्दै गर्दा महामन्त्री गए जाओस्। सदस्य मात्रै भएर बस्न परे बसुँ।’
यसअघि महामन्त्री थापाले नेपाली काँग्रेस पार्टी पटकपटक अफ्ठ्यारोमा परेको र पटकपटक पार्टीका साथीहरू निरास भएको भन्दै यसपटक अझ धेरै निराश भएको बताए । उनले भने,’अहिले हामी सरकारमा छौं, तर हाम्रा साथीहरू ७४ को निर्वाचनको नतिजापछि भन्दा धेरै निराश देख्छु । प्रश्न सोध्दा ८४ को निर्वाचनमा हारिन्छ, भन्ने आउँछ । किन यस्तो प्रश्न गरिरहेका छौं ? यसको कोठे जवाफले मात्रै पुग्दैन । त्यहीँ समस्या छ । कहिँ न कहिँ समस्या छ, साथीहरूको मन दुखेको छ ।’, उनले भने ।
अहिले काँग्रेसलाई हेर्ने दृस्ठिकोण नै फेरिएको उनले बताए । ‘हिजो जनताले काँग्रेस सत्ता र सकार साध्री हैन साधन मात्रै हो भनेर चिन्ने गर्थे । ऊ सरकारमा पुग्न, सत्ता लिन चाहन्छ तर सिद्धान्तसँग सम्झौता गरेर हैन भन्ने बुझ्थे। तर, सत्ता हैन मलाई सिद्धान्त चाहिन्छ भनेर ३० बर्ष पन्चायतसँग संघर्ष गरेको काँग्रेस, जसले ज्ञानेन्द्र शाहले गरेको निर्वाचनमा म भाग लिन्न भन्यो, किनकी यो चुनाव चुनाव हैन भन्ने अभिव्यक्ति दियो । पछिल्लो समयमा काँग्रेसको इमेज काँग्रेसका लागि सरकार सबै कुरा हो भन्ने भयो ।सत्ताका लागि सबै कुरा गर्छौं भन्ने जुन इमेज बन्यो,आजको निराशाको मुल कारण यो हो ।’, महामन्त्री थापाले भने ।