काठमाडौं । काठमाडौंको ठमेलमा एक जना युवकले युवतीको हत्या गरेका छन् । मंगलबार काठमाडौं महानगरपालिका-२६ ठमेल भगवती बहालमा चितवनको राप्ती नगरपालिका-७ घर भएकी २६ वर्षीया जेनिशा तामाङको हत्या भएको हो।
प्रहरीका अनुसार उनीमाथि कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले काभ्रे धुलिखेल नगरपालिका-१० घर भई भगवती बहालमा डेरामा बस्ने ३० वर्षीय अमर रञ्जितकारलाई पक्राउ गरेको छ।
उनीहरू भगवती बहालको चार तले घरको दोस्रो तलामा डेरा लिएर ६ महिनादेखि लिभिङ टुगेदर गरी बसेका थिए। प्रहरीका अनुसार मंगलबार दिउँसो उनीहरूबीच विवाद भएर झगडा भएको थियो। रञ्जितकारले मापसे गरेका थिए।
मापसे गरेका उनले तामाङमाथि कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। साढे ३ बजे तामाङको उपचारको लागि महाराजगञ्जस्थित अस्पतालमा पुर्याइएको तर
उपचारको क्रममा राति पौने ८ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनामा संलग्न रञ्जितकारलाई पक्राउ गरेको छ। उनीमाथि प्रहरी वृत्त सोह्रखुट्टेले अनुसन्धान अघि बढाएको बताएको छ।