November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

आफ्नो नाम मुछेर भ्रामक सामग्री सम्प्रेषण गरेको भन्दै प्रधानन्यायाधीश भट्टराईको भर्त्सना

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले आफ्नो नाम मुछेर भ्रामक सामग्री सम्प्रेषण भएको भन्दै भर्त्सना गरेका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले यस्ता तथ्यहीन सामग्रीमा आफ्ना नाम जोडिएकोमा आश्चर्यचकित र स्तब्ध भएको बताएका छन् ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘आज सिधा कुरा भन्ने सामाजिक संजालमा प्रसारित समाचारमा मेरो नाम जोडिएकोमा म आश्चर्यचकित र स्तब्ध भएको छु । मेरो करिब ४३ वर्षको न्यायिक यात्रा खुला पुस्तक जस्तै छ । जुन मुद्दाको प्रसंगमा मलाई जोडियो सो मुद्दामा म संलग्न थिइनँ भन्ने कुरा उक्त मुद्दामा भएको फैसलाले नै बोलेको छ । त्यतिमात्र नभई जुन समयमा संवैधानिक इजलासबाट सो फैसला भयो सो अवधिमा मलाई संवैधानिक इजलासमा विरलै राखिएको कुरा पनि स्पष्ट गर्दछुु ।’

उनले स्टिङ्ग अपरेशनमा संवैधानिक इजलासबाट फैसला भएपश्चात् आफूसहितको संयुक्त इजलासबाट गरिएका कैयौं फैसलाहरूले सो विषयमा आफ्नो न्यायिक धारणा व्यक्त गरेको पनि बताएका छन् ।’ उल्लिखित विषयमा मैले कसैलाई भेटेको वा कहींकतै उपस्थित रहेको भन्ने कुरा नै तथ्यहीन छ । यस्तो आधारहीन, झुठो र जनतामा भ्रम छर्ने कुत्सित उद्देश्यबाट प्रसारित समाचारको म भर्त्सना गर्दछु’, विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

सिधाकुरा डटकमले शुक्रबार बिहान चार सय मुद्दा मिलाउनका लागि सर्वोच्चका अदालतका न्यायाधीश भट्टराई नै मिलेको भन्ने ब्यहोराको फेक अडियो राखेर समाचार सम्प्रेषण गरेको थियो ।