काठमाडौं । फेसबुकमार्फत सम्पर्क गरी हवाई टिकट मिलाई दिने भन्दै ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर नगरपालिका वडा नं. ५ बस्ने सुनिता लामिछाने रहेकी छिन् ।
प्रहरीका अनुसार लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत विभिन्न व्यक्तिलाई सम्पर्क गरी हवाई टिकट मिलाई दिने भनि ठगी गर्ने उजुरी परेपछि खोजतलासका क्रममा उनलाई काठमाडौंको गोकर्णेश्वरस्थित नमुना बस्तीबाट पक्राउ गरिएको हो ।
उनले बागबजारमा झोइन्ट भिजन ट्राभल्स एण्ड टुर्स सञ्चालन गर्दै आएको खुलेको छ । उनलाई अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार उनले नक्कली हवाई टिकट बनाएको भन्दै हाल सम्म ८ जनाले ठगी सम्बन्धी कसुरमा जाहेरी दिएका छन् । यस्तै उनको नाममा बैंकिङ कसुरसम्बन्धि मुद्दामा तीन जनाले जाहेरी समेत दिएको पाइएको छ ।