काठमाडौं । जापानमा रोजगार र अध्ययनका लागि पठाउँछौं भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ घर भएका राजन श्रेष्ठ र झापाका गौरादह नगरपालिका–२ घर भएका ४६ वर्षीय ईश्वरी पाण्डे रहेका छन् ।
प्रहरीका अनुसार श्रेष्ठ कागेश्वरी मनोहरा नगरपालिका स्थित बेशिगाउँ र पाण्डे अनामनगरबाट पक्राउ परेका हुन् । उनीहरुले २ सय १९ जनाबाट ३ करोड ३७ लाख असुल गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
उनीहरूले अर्काको नागरिकता प्रयोग गरेर पुतलीसडकमा नियोनी एजुकेशन प्रालि नामको कन्सल्टेन्सी खोलेका थिए । राजन श्रेष्ठले नारायणबहादुर राईको नागरिकता दुरुपयोग गरेर सानिमा बैंकमा खाता खोलेको भेटिएको प्रहरीले जनाएको छ। पठाओ राइडर रहेका उदयपुरका राईको नागरिकता दुरुपयोग गरेर श्रेष्ठले बैंकको केवाइसी फारममा चाहिँ आफ्नो फोटो टाँसेको प्रहरीले जनाएको छ ।
ईश्वरी पाण्डेले बझाङका पर्वराज पाण्डेको नागरिकता दुरुपयोग गरेको भेटिएको छ ।
आरोपीहरुले प्रतिव्यक्ति ४ लाखदेखि ७ लाख उठाउने गरेको भेटिएको र अर्काको नाममा बैंका खाता खोलेर ठगीको रकम उनीहरुले ती खातामार्फत लेनदेन गर्ने गरेको पाइएको बताइएको छ। उनीहरुसँगै ठगीमा संलग्न अर्का एकजना फरार छन् ।