काठमाडौं । दाङमा बन्चरो प्रहार गरी दुई महिलाको हत्या गरिएको छ । शनिबार अपराह्न घोराही उपमहानगरपालिका-१० पहेलपारमा एक अटो चालकले बन्चरो प्रहार गरी दुई महिलाको हत्या गरेका हुन्।
प्रहरीका अनुसार अटो चालक रोल्पा थबाङ घर भई हाल घोराही-१७ चौघेरा बस्ने ५८ वर्षीय टेकबहादुर घर्तीले बन्चरो प्रहार गरी सुर्खेत घर भई हाल घोराही-१० पहेलपार बस्ने ४४ वर्षीया संगीता सुनार र रूकुम घर भई पहेलपार बस्ने ५० वर्षीया जुपली बुढाको हत्या गरेका हुन् ।
घर्तीले सधैंजसो दुई महिलालाई अटोमा बजारबाट घर छोड्ने गरेको र शनिबार पनि घर छोडेको केहीबेरमा विवाद भएपछि बन्चरो प्रहार गरी घरमै हत्या गरेको प्रहरीले जनाएको छ।
हत्यापछि घर्ती अटो छोडेर भागेका थिए । उनलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
घर्तीले प्रारम्भिक बयानमा दुई महिलाले लामो समयदेखि अटोमा चढेर पैसा नदिएपछि आक्रोशित भएर हत्या गरेको बताएको प्रहरीले जनाएको छ।