काठमाडौं। बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक गेष्टहाउस सञ्चालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका–६ घर भई काठमाडौंको नयाँ बसपार्कस्थित नीमा गेष्टहाउस सञ्चालन गर्दै आएका २९ वर्षीय सुजन तामाङ रहेका छन् ।
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीद्वारा विहीबार पक्राउ गरिएका उनले बालिकालाई ललाइफकाई आर्थिक प्रलोभनमा पारेर यौन व्यवसायमा लगाएको पाइएको प्रहरीले जनाएको छ ।
प्रति ग्राहक १ घण्टादेखि २ घण्टासम्म यौन सम्पर्क गरेवापत तामाङले २ देखि ३ हजार रुपैयाँ बुझ्ने गरेको पाइएको र पीडित बालिकालाई उनले एक महिनादेखि गेष्टहाउसबाट बाहिर निस्कन समेत नदिई यौन व्यवसायमा लगाएको आरोप छ ।
बालिका बिरामी हुँदा समेत उपचार गर्नुका साटो यौन व्यवसायमा लगाएको पाइएको ब्यूरोले जनाएको छ ।
आफ्नै गेष्टहाउसबाट पक्राउ परेका तामाङविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।