November 8, 2026, Sunday
२०८३ कार्तिक २२
1:37:26 pm

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिएका छन् । निर्वाचित अध्यक्ष केपी शर्मा ओलीको शपथ पछि उनले अन्य पदाधिकारी र केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

शनिवारदेखि सुरु भएको नेकपा एमालेको एघारौँ महाधिवेशनको छैटौँ दिन नयाँ नेतृत्वको टुङ्गो लागेको हो । महाधिवेशनबाट अध्यक्ष पदमा केपी शर्मा ओलीले १६६३ मत प्राप्त गर्दै ईश्वर पोखरेललाई पराजित गरेका छन् ।

पोखरेलले ५६४ मत पाएका थिए । खसेको मतमध्ये ओलीले झन्डै तीन चौथाइ पाएका छन् । यसअघिका दुईवटा महाधिवेशनमा पनि ओली नै निर्वाचित भएका थिए । महासचिवमा शङ्कर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा भएको थियो । जसमा पोखरेलले १२२८ मत पाएर विजयी भएका छन् । उनले खसेको मतमध्ये करिब ५५ प्रतिशत मत पाएका छन् ।

Advertisement

निर्वाचनमार्फत् ५ उपाध्यक्ष, ३ उपमहासचिव तथा ९ जना सचिवका रूपमा नयाँ पदाधिकारीहरू छानिएका छन् ।

उपाध्यक्षमा निर्वाचित हुनेहरूमा पृथ्वी सुब्बा गुरुङ, विष्णु प्रसाद पौडेल, राम बहादुर थापा (बादल), गोकर्ण राज विष्ट र रघुजी पन्त रहेका छन् । तीमध्ये पौडेल, गुरुङ, पन्त र थापा ओली प्यानलका अनि विष्टमात्र पोखरेल प्यानलका थिए ।

त्यस्तै ३ जना उपमहासचिव पदमा जित्नेहरूमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई छन् । तिनमा भट्ट र महासेठ ओली प्यानलको तथा भट्टराई पोखरेल प्यानलको भनेर प्रचार गरिएका थिए ।

निर्वाचित भएका ९ जना सचिवमा सबै ओली प्यानलका रहेका छन् । महेश बस्नेत, पद्मा कुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मत कुमार कार्की, खगराज अधिकारी, यामलाल कँडेल, राजन भट्टराई र भानुभक्त ढकाल निर्वाचित भएका हुन् ।

महाधिवेशनबाट ३०१ जना केन्द्रीय सदस्य चुनिएका छन् ।