काठमाडौं । जाजरकोटमा श्रीमतीको हत्या आरोपमा फरार रहेका श्रीमान तीन वर्षपछि पक्राउ परेका छन् ।
आफ्नी ३४ वर्षीया श्रीमती पानसरामाथि बञ्चरो र खुकुरी प्रहार गरी हत्या गरेको अभियोग लागेका छेडागाड नगरपालिका–१३ पिपलतडाका भद्रबहादुर सुनार फरार थिए । उनलाई प्रहरीले आइतबार पक्राउ गरेका हो ।
पानसराको २०७९ मंसिर १० गते हत्या भएको थियो । घटनापछि भद्रबहादुर फरार भएका थिए ।
जिल्ला अदालत जाजरकोटले भद्रबहादुरलाई सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।