नडाहा टेम्पो चालक समुहले आफ्नो तेस्रो वार्षिक साधारणसभा हिजो सम्पन्न गरेको छ ।
बराहक्षेत्र-३ स्थित आफ्नै टेम्पो स्टेन नडाहामा सम्पन्न सो साधारणसभामा यात्रुहरुलाई सरल र सुलभ तरिकाले कसरी गन्तव्यमा पुर्याउने र यात्रुहरुको विश्वास जितेर अघि बढ्नुपर्ने विषयमा छलफल भएको थियो ।
कार्यक्रममा उठेका प्रश्नहरुमाथि अध्यक्ष हरी थापा र सचिव पृथ्वीमान राईले उत्तर दिएका थिए ।
कोषाध्यक्ष डम्बर बराइलीले संस्थाको आयव्यय प्रस्तुत गर्दै सबै खाले खर्च कटाएर संस्थामा आज सम्मको बचत ७ लाख ५१ हजार ७८ रुपैयाँ रहेको बताए । साथै यो वर्षमा सामाजिक कार्यमा ५४ हजार ९ सय ३० रुपैयाँ बराबरको खर्च गरेको बताए । उनले आगामी दिनमा पनि आफ्नो हैसियत अनुसार सामाजिक कार्यमा समर्पित रहने बताए ।


संस्थाको प्रगति विवरण पेस गर्दै सचिव पृथ्वीमान राईले पूर्व अध्यक्ष चिरण एभेङ लिम्बूको श्रद्धाञ्जली सभालाई विशेष बनाइएको, महाबिर पुनको पुस्तक खरिद, स्कुलमा कविता कार्यक्रमसङ्गको सहकार्य, आपतविपतमा आर्थिक अवस्था कमजोर भएका बिरामीको उपचार खर्चमा सहयोगका साथै श्रमदान जस्तो महान अभियानमा समेत आफ्नो संस्था सहभागी भएको बताए ।
संस्थाका अध्यक्ष हरी थापाले सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यसैगरी यात्रुहरुको मन, भावना र विश्वास जित्दै अघि बढ्ने बताए । उनले थपे, ‘हामी, हाम्रो टेम्पु र हाम्रा यात्रुहरुबिच नङ र मासुको सम्बन्ध रहेको छ । यसकै कारण नडाहा टेम्पु चालक समुह यहाँसम्म आइपुग्न सफल भएको छ । कहिलेकाहीँ जान अन्जानमा भएको हाम्रो कमजोरीप्रति हामी माफी माग्छौँ र त्यसलाई आगामी दिनमा न्यूनीकरण गर्ने प्रतिबद्धता गर्दछौं । साथै यहाँहरुको माया ममता प्रेम र विश्वासको सम्मान गर्दछौं र यो सद्भाव सदा कायम रहीरहोस् भन्ने अपेक्षा गर्दछु ।’
स्मरणीय छ नडाहा टेम्पु चालक समूह व्यवस्थित, आपसी सद्भाव, नियमित कामकार्वाही र सामाजिक कार्यमा समेत उत्तरदायी समूह हो ।