August 26, 2026, Wednesday
२०८३ भाद्र १०
1:37:26 pm

कुम्मायकमा चेम्जोङ वंश अक्षयकोष स्थापना

पदम सुखी सम्बाहाम्फे
२०८३ जेष्ठ ६

पाँचथर । जिल्लाको कुम्मायक गाँउपालिकाकोस्थित स्यावरुम्बामा मावोहाङ चेम्जोङ मिङ्स्रा थोबोचुम् मेङ्घेङमा याङ्भु अक्षयकोष स्थापना भएको छ ।

अनौपचारिक रूपमा ७७ सालदेखि सन्चालनमा रहेको उक्त अक्षयकोष किरात याक्थुङ चुम्लुङ हिम तलाउमा सोमबार विधिवत उद्घाटन गरिएको हो ।

थाकथाकु मावोहाङ चेम्जोङ वंश उत्थान संघ कुम्मायक गाउँ शाखाद्वारा आयोजित सो कार्यक्रममा अक्षयकोष दाताहरुलाई विशिस्ट प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।

Advertisement

मावोहाङ चेम्जोङ मिङ्स्रा थोबोचुम् मेङ्घेङमा याङ्भु समितिका अनुसार समाजसेवी स्व: दल बहादुर चेम्जोङ स्मृति कोषमा एक लाख ११ हजार ६ सय १५ रुपैयाँ, यसैगरी स्व: दालहाङमा चेम्जोङ स्मृति कोषमा एक लाख ११ हजार १ सय ११ रुपैयाँ र स्व: मदनकुमार चेम्जोङ् स्मृति कोषमा एक लाख ११ हजार १ सय ११ रुपैयाँ रकम रहेको बताइएको छ ।

यसरी नै समाजसेवी रामकुमार चेम्जोङद्वारा १ लाख ५१ हजार १ सय ११ रुपैयाँ, समाजसेवी डिल्लिकुमार चेम्जोङले एक लाख, १ सय ११ रुपैयाँ र हालसम्म स्याबरुम्बाका वंशजहरूबाट जम्मा ५३ हजार ५०० सङ्कलित रुपैयाँ गरी ५ लाख ३५ हजार ४ सय ८४ रुपैयाँ कुल रकम अक्षयकोषमा मौज्दात रहेको जनाइएको छ ।

मावोहाङ चेम्जोङ मिङ्स्रा थोवोचुम मेङ्घेङमा याङ्भु संस्था स्थापना गरेर उदाहरणीय कार्य गरेको कुम्मायक गाउँपालिकाका अध्यक्ष बमप्रसाद लावतीले बताए । यो संस्था चेम्जोङ वंशजको मात्र नभएर वडावासीको साझा सम्पत्ति बन्न सकोस् भन्दै लावतीले शुभकामना व्यक्त गरेका थिए ।

वडाका हरेक समुदायको लागि दु:खसुखको सारथी र पुल बन्न सकोस् भन्दै वडा नम्बर ५ का वडा अध्यक्ष निर्मलराज घिमिरेले वडा कार्यलयको क्षमताले भ्याएसम्म सहयोग पुर्‍याउने बताए ।

समाजमा समान वर्गीय चिन्तन रहेको र उत्थानका लागि आर्थिक पाटो नै अघि हुने हुनाले भइपरी आएको बखत यो संस्थाले आवश्यक सहयोग पुर्‍याउने वडा नम्बर ५ का वडा सदस्य इन्द्रबहादुर चेम्जोङले बताए । मावोहाङ चेम्जोङ वङ्श आर्थिक रूपमा सबल भए सामाजिक कार्यको आकार फराकिलो पार्न सहज हुने सुर्य बिक्रम चेम्जोङ्को भनाइ थियो ।

वडाको आहाले टोल निवासी शरीरको मेरुदण्ड भाचिएर शक्त घाइते स्व: ईश्वरसिं चेम्जोङ र क्यासर रोगी स्व: सनज्योती चेम्जोङलाई पनि सस्थाले आर्थिक सहयोग पुर्‍याएको किरात याक्थुङ चुम्लुङका पुर्व केन्द्रीय सदस्य गणेश चेम्जोङले बताए । कार्यक्रममा तेजेन्द्र चेम्जोङ र ठगेन्द्र चेम्जोङले पनि आआफ्नो धारणा राखेका थिए भने समाजसेवी पुर्णध्वज चेम्जोङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।