
हङकङ । नेपाल चेम्बर अफ कमर्स, हङकङको पहल र विशेष सक्रियतामा हङकङस्थित नेपाली महावाणिज्य दूतावासको सेवाग्राही कक्षमा विश्व शान्तीका अग्रदुत गौतम बुद्धको प्रतिमा स्थापना गरिएको छ। एक विशेष औपचारिक समारोहबीच बुद्ध प्रतिमा प्रतिस्थापन गरिएको हो।
विश्व घिसिङद्वारा सञ्चालित उक्त कार्यक्रममा चेम्बरका उपाध्यक्ष धिराजकुमार साम्पाङले स्वागत मन्तव्य राखेका थिए भने बुद्ध प्रतिमा प्रतिस्थापन समितिका संयोजक मनोज गौतमले यस कार्यको औचित्यबारे प्रकाश पारेका थिए। कार्यक्रममा चेम्बरका संरक्षक बेद खड्का, सल्लाहकारहरू कुलप्रसाद गुरुङ र प्रितम श्रेष्ठ, नेपाली आदिवासी जनजाति महासंघका अध्यक्ष एमबी थापा मगर तथा सल्लाहकार रिता गुरुङलगायत नेपाली समुदायका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति थियो।


कार्यक्रमका प्रमुख अतिथि एवं कार्यवाहक महावाणिज्य दूत सतिश गुरुङले दूतावासमा बुद्ध प्रतिमा स्थापना गरेर ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भन्ने सन्देश विश्वसामु फैलाउन चेम्बरले खेलेको भूमिकाको उच्च प्रशंसा गरे। उनले यस कार्यले दूतावासमा सकारात्मक ऊर्जा प्रवाह हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहकार्य निरन्तर रहने अपेक्षा राखे।
चेम्बरका अध्यक्ष शशी मदन राईले ४० हजार हङकङ डलरको लागतमा सम्पन्न यस कार्यमा सहयोग गर्ने दाताहरू तथा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरे।


कार्यक्रमको मुख्य आकर्षणका रूपमा बौद्ध धर्मगुरु खेन्पो कर्मा ग्याल्पो र लामा टासी लामाद्वारा मूर्तिमा विधिवत् प्राण प्रतिष्ठा गरिएको थियो। प्राण प्रतिष्ठापश्चात् खेन्पो कर्मा ग्याल्पो लामाले बुद्धको महिमा र शान्तिको सन्देशबारे प्रवचन दिँदै उपस्थित सबैलाई आशीर्वाद प्रदान गरेका थिए। कार्यक्रमको अन्त्यमा सहभागीहरूले प्रसाद ग्रहण गरेका थिए।


