November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

भुइँकुइरोले समेत कविता सुन्ने त्यो रमिते डाँडा

प्रकाश दिप्साली राई

चरक्क घाम, झ्यार्र पानी, भुइँ नै छोएर दगुरी हिँड्ने भुइँकुहिरो, मधुमल्लामाथि डाँडाको अन्तिम जेष्ठतिरको आइतबारे, रमितेको मौसम । कुनै घुम्तीमा दर्के पानी, कुनै घुम्तीमा चरक्क घाम । कार्यक्रम स्थलमा पुग्दा कोही निथ्रुक्कै भिजेका, कोही घरबाट भर्खरै हिँडेजस्तै । करिब बाह्र बजेतिर खचाखच भरियो रमिते डाँडामा रहेको स्काइ भ्यु होटलको सेमिनार हल, अनि सुरु भयो ‘मिक्लाजुङ काव्य उत्सव–२०८३’ ।

महाराज ! इतिहासमै पहिलो पल्ट
तपाइँको सवारी हेर्न आएकी छु ।

Advertisement

चित्तामा जलाउन नसक्नुभएको
चिहानघारीतिर पनि गाड्न नसक्नुभएको
एक बेवारिसे लास बनाएर छोड्नुभएको थियो नि !
हो त्यही हुँ म ।

यी हेर्नुस् त ! तपाईंले मेरो गर्धनबाट छिनाउनुभएको
मेरै टाउको बोकेकी छु, आफ्नै देब्रे हातमा ।

ऐतिहासिक सवारीको स्वागतार्थ
ठिङ्ग उभिएको छ मेरो शरीरको गिँड पनि
तपाईंका दरबारको मुलद्वारमा ।’

(चक्रवर्ती महाराज/सीमा आभास)

उत्सवको थालनी कवि सीमा आभाषको उल्लेखित कवितामार्फत भयो । त्यसपछि एकपछि अर्का अब्बल कविहरूको कविता प्रस्तुत हुन थाल्यो । प्रदेश नम्बर १ भरिका हेभिवेट कविहरूदेखि कवितामै उज्यालो घाम चियाउँदै कलममा ताते गर्दै गरेकाहरू अनि कविता सुन्नकै निम्ति दुरदराजबाट यात्रा गरेका कवि मनहरूको बेजोड भेलाले कार्यक्रमभन्दा पनि त्यो त काव्य मेलाजस्तो लागेर सो कार्यक्रमको साक्षी हुन आइपुगेका थिए देशकै प्रतिष्ठित कविहरू भूपिन खड्का, निमेष निखिल, बिना थिङ अनि आएका थिए बेलायत निवासी कवि काङमाङ नरेश । प्राज्ञहरू मुनाराज सेर्मा र सुमित्रा वाङ्देल चेलीको आगमनले कार्यक्रमलाई सुगन्धित बनाएको महसुस जरुरै गराउँथ्यो ।

‘संसार स्वार्थी छ
म पनि स्वार्थी छु
तिमी पनि स्वार्थी छौ
वास्तवमा संसारलाई निस्वार्थको घेराभित्र राख्नै सकिन्न रैछ ।
माछाहरूले माछै खाँदो रैछ, समुन्द्रमा
मान्छेहरूले मान्छे खाँदारहेछन्, लोकमा
छाडिदिऊँ यस्ता झ्याउ लाग्ने कुराहरू
फूलले त भमरा खान्छ भने ।’

(भेनस फ्लाइट/सेलिङ केसी)

कवि सेलिङ केसीको फरक स्वादको कविताले हललाई गलल हँसाइदियो । कविताका साधकहरूलाई चिउँडोमा हात राख्ने नै बनाइदियो । मिक्लाजुङ साहित्य समाजले आयोजना गरेको कार्यक्रमलाई ‘मिक्लाजुङ काव्य उत्सव’ नाम दिएको थियो । झण्डै ६० हाराहारीका कविहरूले आफ्ना कविता सुनाए । कुनै कविले हँसाए, कुनै कविहरूले प्रेमका कुरा गरे । तर, काङमाङ नरेश राईका कविताले हललाई चकमन्न बनायो ।

‘उफ !
कसरी मान्छ र मन
यस्तो बेला लडाइँमा जान
कार्पेटमाथि रास लागेको छ मरेका किराहरूको
गुन्जन थाल्छ कानमा आवाजविहिन सङ्गीत
आँखाबाट अविरल नदी बगाउँदै
थर्थराएका हातले फूलको माला लगाइदिदैँ
उनी भन्छन्–
“जस्तो जाँदै हुनुहुन्छ त्यस्तै फर्किनु युद्धबाट ।”

लाग्छ–
थुप्रै छन् भन्नुपर्ने कुरा
तर, फुट्दैन बोली
निस्किन्छु क्वाटरबाहिर
र ड्याम्म बन्द गर्छु बिदाईको ढोका ।’

(आँसु जस्तै छ युद्ध/काङमाङ नरेश राई)

धेरैको मथिङ्गल हल्लाइदियो कविताको शक्तिले । त्यत्रो भीडलाई कविताले पुरै नियन्त्रण ग¥यो । कानको साउतीबाहेक आवाज चुइक्क निस्केन कुनै कुर्सीबाट । ऊ बेलाको प्रख्यात बजार मधुमल्लाबाट ३२ किलो मिटरको दुरीमा रहेको रमिते डाँडामा देशकै प्रतिष्ठित कविहरूले दिल खोलेर कविता वाचन गर्न लालायित भए यो क्रममा हेटौडाका कवि भुपिनको ‘ढुङ्गा’ शीर्षकको कविता सुन्न वतपरका भुइँ कुइरो भेला भएको अनुभुति हुन्थ्यो ताकी उनले कविता प्रस्तुत गर्दा भुइँकुइरोले रमिते डाँडालाई छपक्कै छोपेको थियो । सायदै कविताको शक्ति त्यहाँभन्दा अरु कुनै हुनु पर्छ र ? धेरैले तारिफ गरेको एउटा कविता यो पनि थियो ।

‘सुनेको छु
आफ्नो घरदेखि दरबार पुग्ने सडक बनाउन
फेरि पहाड फोर्दैछ रे काजी गणतन्त्रले ।
पक्का छ, यसपाली पनि पहाड झर्नेछ ।
लाहुरको गुरुत्वले तान्ने ढुङ्गा न हुन् मेरो देशका युवाहरू,
म त कसैगरि अल्झने छु पहाडको हत्केलामा
तर डर छ मलाई–
खस्नेछ मेरो छोरा त्यो अग्लो पहाडबाट
र पुग्नेछ सबैभन्दा टाढा–
मिस मेलिनाको चिसो देशमा ।

मलाई थाहा छ, तिमीलाई मैले सुनाएझैँ
सुनाउने छ एकदिन मेरो छोराले मेलिनालाई
आफ्नो कथा–
‘डियर मेलिना
सबैभन्दा अग्लो पहाडबाट झरेको ढुङ्गा
सबैभन्दा टाढा पुग्छ
म त्यही ढुङ्गा हुँ ।’

(ढुङ्गा/भुपिन)

लट्ठी टेक्ने बयोबृद्धादेखि दुधे बच्चा च्यापेका आमाहरू समेत कविता सुन्न आएका थिए । जसको कारण सेमिनार हलमा मान्छे नआँटेर बाहिर बसेर पनि कविताको आनन्दमा लिन भ्याए । यी सबैलाई प्रेम गर्दै प्रेमिल कविता पस्किइन् बराहक्षेत्रकी कवि सविता फागो चोङबाङले ।

‘किन कसैका आँखाहरू
दिललाई नै केन्द्र बनाएर
यति दीर्घ पराकम्पन छाडेर जान्छन् ?

जसले धमनीहरू क्षतविक्षत बनाइदिन्छन्
र ऐँठनको इनारबाट निस्कनै दिँदैनन् ।
उसका आँखाहरूको तातोपनबाट जोगिन
भुइँछुँदै कुद्ने कुहिराहरूमा
आफैँलाई चिस्याएँ ।

‘तर खै किन हो,
फेरि पनि खोजिरहेकी छु म
उसैको एकजोर आँखाको तातो वाफ ।’

(एकजोर आँखा/सविता फागो चोङबाङ)

प्राकृतिक सौन्दर्यले भरिपूर्ण मस्त जवानीले उन्मुक्त रमितेमा कवि लेखकहरूलाई नजिकबाट नियाल्न मिक्लाजुङ गाउँपालिकाका जनप्रतिनिधिहरू पनि सारा काम भुलेर दिनभरी नै कार्यक्रममा रहे । अनि साङ्सेन पन्धाकको ‘भाउजु ताकी रहेको मुन्धुमी पात्र’ कविता सुनेर ऐठन परिन्जेल उन्मुक्त हाँसो हाँस्न पनि भ्याए ।

‘हाउ भाउजु त्यो भण्डारी दाजुको यादमा कति जान्छौ सति…?
एउटा बन्दी छोराको यादमा बसेजस्तो
कति निन्याउरो अनुहार बनाएर बस्छौ …?
प्रेमको विज्ञानभन्दा पर पनि जान सकिन्छ ।
प्रेमको आध्यात्माभन्दा वर पनि आउन सकिन्छ ।

हाउ भण्डार्नी भाउजु
किन उभिन्छौ त्यो विधुवा चिन्तन बोकेर…?
किन मान्छौ त्यो जीवन विरोधी शास्त्र…?
आउ म
कन्या लिम्बु केटासँग मुन्धुमी विवाह गरम्
विवाह गरौँ
हाम्रो मुन्धुममा त लोग्नेले छोड्ने बितिकै कन्या बन्छ महिला ।’

(भाउजु ताकी रहेको मुन्धुमी पात्र/साङ्सेन पन्धाक)

‘भूई झरेको
एउटा पात
उभो…
आकाशतिर फर्किएर
रुखलाई भन्छ,
“मैले खसेपछि मात्रै हो तिमीमा वसन्त चढ्ने !
मैले मरेपछि मात्रै हो तिमीले बाँच्ने !’

(बोध/सुदीप पाख्रीन)

सायदै यी यस्तै शक्तिशाली कविहरूको भीड देखेरै होला गम्भीर र वजनदार तवरले कवि गगन योक्पाङ्देनले ‘मिक्लाजुङ काव्य उत्सव’को सहजीकरण गरे, कवि हेमन यात्रीले प्रायः आफ्ना समकालिनहरूलाई रोचक तरिकाले सम्बोधन गरे । कार्यक्रममा कविता मात्र हैन सुन्दर गजलका शेरहरू पनि गुन्जिए ।

‘घामले डढेको, पानीले रुझेको जिन्दगी दह्रो होला
काँडामाथि पाइला टेकेको जिन्दगी दह्रो होला

सायद मायाले असाध्यै कमजोर बनाउछ मुटु,
दिलभित्र बस्नेले धोका देको जिन्दगी दह्रो होला।

घरीघरी स्मृतिले वर्तमान दुखाउछ होस् गर्नुस् ,
सधैं भरका लागि बिर्सेको जिन्दगी दह्रो होला ।’
(गजल/युवराज ठकुरी)

लोकप्रिय गजलकार युवराज ठकुरीको यी गजल शेरहरूमा रमायो आइतबारे, रमिते डाँडा । सो काव्य उत्सवले धेरैलाई कार्यक्रमको व्यवस्थापन पनि सिकाएको हुनुपर्छ । त्यतिबिघ्न कविहरूको सुची पनि दिउँसो ३. ५० तिरै सबैको पालोसहित सम्पन्न गरेर पाहुनाहरूलाई पनि बेलैमा बिदा गर्न भ्याए आयोजकले । आयोजकले सबैलाई बिदा त गरे तर त्यहाँ उपस्थित कवि लेखकहरूले खास जनप्रतिनिधिहरूको शुभकामना मन्तव्यहरू जरुर सम्झिए । मिक्लाजुङ गाउँपालिकाका – १ का वडाअध्यक्ष पर्वत राईले साहित्यिक कार्यक्रममा यति धेरै मानिसको जमघट नदेखेको यो भेलाले आफू अचम्मित बनाएको बताए । गाउँपालिका अध्यक्ष बबिकुमार राईले कार्यक्रमको उद्घाटन नै वैराँगी काइँलाको कविता वाचन गरेर गरे

‘मेरो माया मफलर भए
बाँधिहिड्थेँ गलामा !
कैलेकाहीँ त मन नहुँदा
टाँगिंहिड्थेँ किलामा !’

शुभकामना मन्तव्यको क्रममा प्रमुख अतिथि राईले कवि लेखकहरूको उल्लेख्य उपस्थितिमा हौसिँदै मिक्लाजुङको साहित्याकासमा अरु थप बजेट बिनियोजन गर्ने प्रतिबद्धता जाहेर गर्दै वर्षायाम सकिएपश्चात थप वृहत् कार्यक्रम आयोजना गर्ने उद्घोष नै गरे । कार्यक्रमको अर्को मनै छुने पल त त्यो थियो । एक जना बुढा बा कार्यक्रम हलमा वर र पर गर्दै, अन्त्यमा कुर्सीमा बस्दै भन्दै थिए “जति अन्तिम भयो, अब जाउँ भन्यो उति मन छुने गीत कविता पो सुनिन्छ त ।”

‘अधुरै छाडेर आफ्ना गीतका प्रेमील पंक्तिहरू
सिमाना काट्ने दाउमा छ चराहरूको सुनौलो फौज ।
प्याट्ट–प्याट्ट हिर्काउदै अनुहारमा
चलिरहेको छ धारिलो न धारिलो सिरुपाते हावा ।
हुस्सुको आतंकले काम्दै– काम्दै खसिरहेको छ ओठबाट गुलाफ ।
फुस्स फुस्स हिउँमा पुरिएर बरफ बनिरहेको छ मुटु ।
र पनि न्यानो भईरहेको छ मलाई
जो हरदम मसित छ सम्झनाको मफलर ।’

(सम्झनाको मफलरा/जे.बि.निखुन्त)

सायदै दुधे बच्चाको झन्झट नमानी लामो समयसम्म कविता सुन्ने आमाहरू, तरुनी तन्नेरीहरू त भइ नै हाले साथमा लठ्ठी टेक्ने हजुरबुबाहरू यस्तै यस्तै कविताहरू सुनेर त होला नि कार्यक्रम हल छाड्न गह्रौँ मानेको ।

कार्यक्रमलाई चन्द्र नेपालीले सञ्चालन र समाजका अध्यक्ष इन्द्र प्रसाद घिमिरे सभाध्यक्ष रहेका थिए ।