July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

आपराधिक घटना परिवार र आफन्तबाटै

२०७७ फाल्गुन २०

बैतडी– केही आपराधिक घटना परिवार र आफन्तबाटै हुने गरेकोे छ। जिल्ला प्रहरी कार्यालयले पाटन र मैलौली नगरपालिकामा आयोजित छुट्टै/छुट्टै कार्यक्रममा ‘नागरिक सुनुवाई’ कार्यक्रममा प्रहरीले यस्तो जानकारी  दिएको हो।   

प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले नागरिकका गुनासो सुन्ने र शान्तिसुरक्षा कायम गर्न ‘थप के कुरा गर्नुपर्छ’ भनेर कार्याक्रम आयोजना गरिएको जानकारी दिए।

उनले भने, ‘हामीले आयोजना गरेको कार्यक्रममा उपस्थित  व्यक्तिले नै परिवार र आफन्तबाटै जोगिन गाह्रो भएको बताउँदै आएका छन्।’

Advertisement

जिल्ला प्रहरी कार्यालयका अनुसार यही फागुन १८ गते मात्रै जिल्लाको पञ्चेश्वर गाउँपालिका– ५ का राजबहादुर चन्दले आफ्ना तीन महिने छोराको हत्या गर्नुका साथै बुबाआमा, श्रीमती र भाइलाई कुटपिटको गरेको घटना भएको थियो।   

यसका साथै गत माघ अन्तिम सातातिर जिल्लाको पुर्चौडी नगरपालिकामा बुबाले आफ्नी छोरीलाई गोली हानी हत्याको घटना र गत माघ २१ गते दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्याको घटनामा भाइ नातापर्ने दिनेश भट्टको संलग्नताको आरोप लागेको छ।

ती केही आपराधिक घटना परिवार र आफन्तबाटै भएको जनाइएको छ। प्रनाउ अधिकारीले भने,‘घरपरिवारबाटै हिंसा र आपराधिक घटना हुन थालेपछि प्रहरीलाई सुरक्षा चुनौती बढेको छ।’