धादिङ – धादिङको धुनीबेंसी नगरपालिका-४, जिम्बालगाउँ ढुंगेनीमा गएको पुस २४ गते राति ७५ वर्षीया वृद्धाको हत्या गरी गरगहना लुटेर फरार भएका पाँच जना काठमाडौंबाट पक्राउ परेका छन्।
सान्नानी सार्कीको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार जिल्ला प्रहरी कार्यालय धादिङमा सार्वजनिक गरेको हो।
कान र घाँटीमा लगाएको गरगहना लुट्नकै लागि वृद्धाको हत्या भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। अनुसन्धानमा संलग्न इलाका प्रहरी कार्यालय खानिखोलाकी प्रमुख रुपा थापाका अनुसार लुटेरा समूहले गत पुस २४ गते राती २ बजे आफ्नै घरमा सुतिरहेको समयमा सान्नानीको हत्या गरेका हुन्।
वृद्धाको हत्यामा संलग्न भएको आरोपमा मकवानपुर जिल्ला मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ बस्ने २५ वर्षीय अनिल थिङ भनिने जय बहादुर सिंगार, खोटाङ जिल्ला खोटेहाङ गाउँपालिका वडा नम्बर ९ मा जन्म भइ हाल सप्तरी जिल्ला अग्नीसाइर कृष्णसवरन गाउँपालिका वडा नम्बर ६ बस्ने वर्ष ३२ का साजन विक, ओखलढुंगा जिल्ल्ला चिशखुंसीगढी गाउँपालिका वडा नम्बर ३ मा जन्म भइ मोरङ जिल्ला विराटनगर महानगर पालिका वडा नम्बर ३ घई भइ काठमाडौं थानकोट बस्ने वर्ष २४ का अबिसराज कार्की, काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका १३ माइती घर भइ नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नम्बर ५ घर भइ काठमाडौं बाफल बस्ने वर्ष ३३ की पुष्पा कुमारी पौडेल र काभ्रेपलान्चोक जिल्ला धुलिखेल नगरपालिका वडा नम्बर २ घर भइ काठमाडौं कालीमाटी बस्ने वर्ष ४२ का सुन व्यवसायी धन बहादुर कालीराजलाई धादिङ प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो।
पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुर र सोही संहिताको परिच्छेद २० को चोरी तथा डाँका सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।